सहकारीको कारोबार रकमका आधारमा नियामकीय क्षेत्राधिकार तोकिँदै

२२ भाद्र २०७९, बुधबार ०६:३७

सहकारी संस्थाहरुको कारोबार रकमका आधारमा नियामकीय निकाय तोक्ने तयारी गरिएको छ । संघीयता कार्यान्वयनपछि स्थानीय तह र प्रदेश मातहत गएका सहकारी संस्थाहरुको नियमन तथा अनुगमन प्रभावकारी रुपमा हुन नकेको भन्दै सहकारी विभागले कारोबार रकमका आधारमा नियायकीय कार्यक्षेत्र तोक्ने तयारी गरेको हो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं स्थापना दिवसमा बोल्दै विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले भन्नुभयो, ‘सहकारी संस्थाहरुलाई भूगोलका आधारमा होइन, उनीहरुको कारोबार रकमका आधारमा कुन निकाय मातहत पर्छ भनेर तोक्नेगरी नियमावली संशोधनका काम अघि बढेको छ ।’

स्थानीय तहले सहकारी संस्थाहरुको नियमन गर्न नसकेका कारण पछिल्लो समय यस क्षेत्रमा विकृतिहरु बढ्दै गएका छन् । सहकारी नियमावली २०७५ को नियम १० मा सहकारी संस्थाको कार्यक्षेत्रसम्बन्धी व्यवस्था गरिएको छ । सो नियमअनुसार कार्यक्षेत्र तोकिएका सहकारी संस्थाहरुलाई संघ, प्रदेश र स्थानीय तहले नियमन तथा अनुगमन गर्ने गरेका छन् ।

अहिले एकपछि अर्कोगरी सहकारी संस्थाहरु समस्याग्रस्त हुँदै गएका छन् । जसको मुख्य कारण तरलता अभाव समस्या हो । तर मुद्दती बचतमा राखेको अवधि पूरा नहुँदै सदस्यले पैसा फिर्ता मागेका कारण पनि समस्या भइरहेको रजिष्ट्रार पण्डितको भनाइ छ ।
केही सहकारीहरुले बचतको शतप्रतिशतसम्म कर्जा दिएको र केहीमा ४० प्रतिशतसम्म पनि तरलता उपलब्ध रहेको देखिएको पनि पण्डितले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *