लामो अवधिका मुद्दती निक्षेपका योजनामा बैंकहरूबीच प्रतिस्पर्धा हुन थालेको छ । अनेक कारणले निक्षेप वृद्धि नभएका बेला बैंकहरूले प्रारम्भिक निक्षेपको १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका हुन् ।
वित्तीय प्रणालीमा तरलता अभावसँगै बैंकहरूको निक्षेप घटिरहेको छ । यसैबीच निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकले सर्वसाधारणबाट निक्षेप आकर्षित गर्न प्रारम्भिक निक्षेपको १० गुणासम्म फिर्ता दिने गरी २१ वर्ष अवधिसम्मका योजना ल्याएका हुन् । योजनाहरूमा निक्षेपकर्ता आकर्षित गर्न बैंकहरूले ब्याजका अतिरिक्त बीमा, क्रेडिट कार्ड, सुलभ कर्जाजस्ता सुविधासमेत थपेका छन् ।
शुरूमा एन आई सी एशिया बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको थियो । त्यसपछि ग्लोबल आइएमई, सिभिल, कुमारी, सानिमा, नबिललगायत बैंकहरूले पनि यस्तै प्रकृतिका निक्षेप योजना सार्वजनिक गरे। उनीहरूको नयाँ योजनामा निक्षेप रकमको दोब्बरदेखि १० गुणासम्म भुक्तानी गर्ने घोषणा गरिएको छ ।
बैंकमा लामो अवधिको निक्षेप राखेर ब्याज लिने सर्वसाधारणका लागि यस्ता योजना उपयुक्त हुने बैंकर बताउँछन् । ‘बैंकहरूले ल्याएका लामो अवधिको मुद्दती निक्षेप योजना बैंकको ब्याजमा आश्रित सर्वसाधाणका लागि उपयुक्त हुन्छ,’ मेगा बैंकका पूर्वकार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले भनिन्, ‘यसबाट बैंकहरूको भने पूँजीको लागत वृद्धि भई कर्जा महँगो हुनसक्छ ।’ तर, यस्ता योजनाले बैंकहरूलाई दीर्घकालीन स्रोत व्यवस्थापनमा भने सहज हुने उनको तर्क छ । छोटो अवधिको निक्षेप लिएर दीर्घकालीन परियोजनामा लगानी गर्दा स्रोत व्यवस्थापनमा अप्ठ्यारो भएको बैंकहरूले गुनासो गर्दै आएका थिए ।
हालसम्ममा एन आई सी एशियाले सर्वश्रेष्ठ मुद्दती, सिभिलले दोब्बर र तेब्बर प्लस, कुमारीले धनवृद्धि मुद्दती, ग्लोबल आइएमईले चक्रवर्ती मुद्दती, सानिमाले बम्पर धमाका मुद्दती र नबिलले ढुक्क मुद्दती योजना सार्वजनिक गरिसकेका छन् ।
मुद्दती योजनाहरूमा बैंकहरूले ब्याजका अतिरिक्त बीमालगायत सुविधा पनि राखेका छन् । एन आई सी एशियाको योजनामा ४० लाखसम्मको घातक रोग बीमा, ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ४ लाखसम्मको औषधि उपचार बीमा सुविधा दिइएको छ भने सिभिलले १० लाखसम्मको जीवन र १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा नि:शुल्क दिने बताएको छ । यसैगरी बैंकहरूले ग्राहकलाई मुद्दती निक्षेपको आधारमा सहुलियत ब्याजदरमा कर्जा सुविधा, कर्जाको सेवा शुल्कमा छूट, नि:शुल्क क्रेडिट कार्डलगायत सुविधा पनि दिएका छन् ।
मुद्दती निक्षेपको अंश बढ्यो
सर्वसाधारणबाट मुद्दती निक्षेप संकलनमा जोड दिएसँगै बैंकहरूमा मुद्दती निक्षेपको अंश वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्त्यमा बैंक तथा वित्तीय संस्थासँग रहेको ५१ खर्ब ५८ अर्ब रूपैयाँ निक्षेपमा मुद्दतीको अंश ५५ दशमलव ८ प्रतिशत पुगेको छ । एक वर्षअघिसम्म बैंकमा मुद्दती निक्षेपको अंश ४७ प्रतिशत मात्र थियो ।
साधारण बचतमा भन्दा मुद्दती निक्षेपमा पाइने ब्याजदर बढी भएपछि साधारण बचत घटेर मुद्दतीको अंश बढेको हो । अघिल्लो वर्ष बैंकहरूमा ३४ दशमलव २ प्रतिशत रहेको साधारण बचतको अंश गतवर्ष २७ दशमलव ६ प्रतिशतमा झरेको छ ।
बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत बिन्दुले बढी ब्याज दिन पाउँछन् । राष्ट्र बैंकको निर्देशनअनुसार कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी बनाउन पाइँदैन ।
संस्थागत निक्षेप तान्ने प्रतिस्पर्धा हटाउन राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अन्तर १ प्रतिशतमात्र थियो ।