नाडा ईभी एक्स्पोमा ५१ स्टल रहने,कहिलेदेखि हुँदैछ सुरु ?
असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुन गइरहेको विद्युतीय सवारीसाधनको मेला (नाडा ईभी एक्स्पोमा)५१ वटा स्टल रहने भएका छन् ।
नाडा अटोमोबाइल एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी गराएको हाे । उक्त मेलामा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारी लिन सकिने छ ।
नाडाका अनुसार मेलामा ७ ब्राण्डका चार पांग्रे, १६ ब्राण्डका दुई पांग्रे, एउटा तीन पांग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शन रहनेछ । तीबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि मेलामा रहनेछन् । मेलामा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदर लगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी गराउने छन् ।
नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको मेला हुन लागेको बताउँदै प्रवेश गर्न चाहनेलाई प्रि -टिकेट बुकिङ सोमबारदेखि नै खुला गरिएको जानकारी दिएका छन् ।
प्रवेश गर्दा विद्यार्थीका लागि टिकेट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । ‘असोज ५ गतेसम्म प्रि टिकेट बुकिङ गर्न सकिने छ, विद्युतीय सवारीको प्रयोगलाई बढाउन मेला प्रभावकारी हुनेछ’ थापाले भने । खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्दा २५ प्रतिशत ‘क्यासब्याक’ पाइने नाडाले जनाएको छ ।
नाडाले सबै प्रकारका सवारीसाधनको मेला गर्ने तयारी गरेका बेला सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध लगाएपछि ईभी एक्स्पो हुन लागेको हो ।