भदौमा घट्यो विदेशी लगानी प्रतिबद्धता

२ आश्विन २०८१, बुधबार ०५:०८

चालू आर्थिक वर्ष (आव) २०८१/८२ को दोस्रो महीना भदौमा नेपालले प्राप्त गर्ने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धतामा कमी आएको छ । चालू आवको साउनको तुलनामा भदौमा प्रतिबद्धता गरिएको एफडीआई ५ अर्ब ३२ करोड १ लाख रुपैयाँले कम हो ।

विभागले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा नेपालले कुल ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता पाएको छ । साउनमा कुल ९ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको एफडीआई प्रस्ताव गरिएको थियो ।

विभागको तथ्यांकअनुसार भदौमा स्वचालित मार्गबाट २६ करोड ५० लाख रुपैयाँ र साविककै प्रणालीबाट ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ ।

साउनमा यस्तो प्रतिबद्धता स्वचालित मार्गबाट ५९ करोड ७५ लाख रुपैयाँ र साविककै प्रणालीबाट ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको थियो ।

चालू आवको साउनमा स्वचालित मार्ग र साविककै प्रणालीबाट आउने दुबै लगानी प्रतिबद्धता बढेकोमा भदौमा भने कमी आएको छ । भदौमा २१ ओटा परियोजना स्वचालित मार्ग र ३८ ओटा परियोजना साविककै प्रणालीबाट स्वीकृत भएका छन् । विदेशी लगानीका लागि विभागले उत्पादनमूलक, ऊर्जा, कृषिजन्य, पर्यटन, खनिज, सेवा, सूचना तथा प्रविधि (आइसिटी) र पूर्वाधार क्षेत्रका परियोजनाको लगानी स्वीकृत गर्दै आएको छ ।

यसमध्ये सबैभन्दा धेरै परियोजना भने पर्यटन, सूचना तथा प्रविधि र सेवामूलक क्षेत्रमा आएको देखिन्छ । विभागले स्वीकृत गर्ने धेरै परियोजना साना लगानी तथा क्षमताका छन् । विभागले गत वैशाखको तेस्रो लगानी सम्मेलनदेखि शुरू गरेको स्वचालित मार्गबाट पनि लगानीकर्ताले परियोजना र लगानी स्वीकृत गराउने क्रम बढेको विभागका अधिकारी बताउँछन् ।

सरकारले आइसिटीमा विदेशी लगानी भित्त्याउन प्रोत्साहन गर्ने नीति ल्याएपछि सो क्षेत्रका लगानीकर्ताले स्वचालित मार्ग बढी प्रयोग गरेको देखिएको छ । भदौमा यो मार्ग प्रयोग गरेर लगानीकर्ताले १६ ओटा परियोजनाका लागि स्वीकृति पाएका छन् ।

भदौमा स्वचालित मार्गबाट २६ करोड ५० लाख रुपैयाँ र साविककै प्रणालीबाट ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *