भदौ ३० – देशकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले हालैका तोडफोड र आगजनीका घटनापछि नेपाली जनतालाई पुनः उठ्ने प्रतिज्ञा गर्दै सन्देश जारी गरेको छ।
गत हप्ताको जेनजी आन्दोलनका क्रममा काठमाडौं लैनचौरस्थित एनसेलको कर्पोरेट कार्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। कम्पनीका अनुसार यी घटनाले भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्याउनुका साथै कर्मचारीहरूको सुरक्षामा र सेवा निरन्तरतामा गम्भीर चुनौती उत्पन्न भएको थियो।
“यी चुनौतीहरूको बाबजुद एनसेलले आफ्नो मूल उद्देश्य—देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्ने—प्रति अडिग रह्यो,” कम्पनीले सन्देशमा उल्लेख गरेको छ। संकटको समयमा सहज सेवा उपलब्ध गराउन कम्पनीले तीन दिनसम्म निःशुल्क स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो।
विगत २० वर्षदेखि नेपालमा सञ्चार प्रविधि र डिजिटल पूर्वाधार विकासमा योगदान दिंदै आएको एनसेलले नेपाली जनसमुदायप्रति आफ्नो समर्पण दोहोर्याउँदै भन्यो, “हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्न तयार छौं।”
एनसेलले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिंदै जेनजी आन्दोलनमार्फत आएको परिवर्तनलाई स्वागत गर्दै सबै नेपालीका लागि “एकता, शान्ति र समृद्धि” को कामना गरेको छ।
कम्पनीले कर्मचारी, ग्राहक र समुदायप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।