Banking Khabar
Heading2

निर्वाचन तयारीबारे आयोग र प्रधानमन्त्रीबीच छलफल

October 9, 2025
सेयर:

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारीबारे सिंहदरबारमा भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चुनाव सफलतापूर्वक सम्पन्न गर्न सरकार र राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री कार्कीले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता भएको बताउँदै, त्यसका लागि अनुकूल वातावरण सृजना गर्न सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
‘निर्वाचन आयोगले सरोकारवालाहरूसँग समन्वय गर्दै कार्यतालिका अनुसारका काम सघन रूपमा अघि बढाउनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

आयोगले सोमबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि पनि असोज ७ गते आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग भेट गरी तयारीबारे जानकारी गराएका थिए।

गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’पछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन घोषणा गरिएको थियो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोग स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन प्रतिबद्ध छ।
‘नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्न, तिहारअघि नै दर्ता भएका राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी भइरहेको छ,’ भट्टराईले बताए।
उनका अनुसार आयोगले अघिल्लो संसदीय निर्वाचनमा प्रयोग भएका स्रोतसाधनको आधारमा आवश्यक स्रोत र बजेटका लागि सरकारसँग माग गर्ने विषयमा पनि छलफल भएको छ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन तथा न्यायमन्त्री अनिलकुमार सिन्हा, र आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत आयुक्तहरू सहभागी थिए।

यसअघि आयोगको आग्रहमा तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधन भई मतदाता नामावली संकलन कार्य जारी रहेको आयोगले जनाएको छ।