प्राइम बैंकका संस्थापक कार्यकारी मानन्धरको निधन

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

प्राइम कमर्सियल बैंक लिमिटेडका संस्थापक कार्यकारी प्रमुख नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतवार बिहान निधन भएको बैंकका सञ्चालक गजेन्द्र विष्टले जानकारी दिएका छन्।

बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्व मानन्धरले २१ औं वाणिज्य बैंकको रूपमा स्वीकृति पाएको प्राइम बैंकको स्थापना तथा विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनको नेतृत्वमा बैंकले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको मानिन्छ।

नेपाल राष्ट्र बैंकले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेर सीमा ६५ वर्ष तोकेपछि मानन्धरले त्यसविरुद्ध सर्वोच्च अदालतसम्म धाउँदा पनि उनले बैंकिङ क्षेत्रप्रति आफ्नो समर्पण प्रस्ट पारेका थिए।

इमानदार, कर्तव्यनिष्ठ र दूरदृष्टि बैंकरका रूपमा परिचित मानन्धर धेरैका लागि प्रेरणाका स्रोत थिए। उनले युवक मावि र युथ क्याम्पसमा अध्यापन गरेपछि धानचामल गोदाम व्यवस्थापन कम्पनीका महाप्रबन्धक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापन तहमा कार्य गरेका थिए। त्यसपछि उनले नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकका कार्यकारी प्रमुखको भूमिकामा रहेर देशको बैंकिङ क्षेत्रमा दीर्घकालीन योगदान दिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp