जीवन विकासको सेयरमा लगातार सर्किट ब्रेकर, एक कित्ताको ३९ सय रुपैयाँ
३ भाद्र २०७८, बिहीबार ०९:३६
भदौ ३, काठमाडौं । जीवन विकास लघुवित्तको सेयर लगातार १६ दिनदेखि सर्किट ब्रेक गर्दैै सेयर मूल्य एक दिनमै प्रतिकित्ता ३९ सय रुपैयाँ नाघेको छ । मूल्य चार हजार रुपैयाँ पुग्नै लाग्दा किनबेच हुने सेयर संख्या भने न्युन छ ।
बजारमा न्यून आपूर्तिकै कारण पहिलो कारोबार दिनदेखि अहिलेसम्म लगातार यसको मूल्यमा सर्किट ब्रेकर लागिरहेको छ। यससँगै लघुवित्त कम्पनीहरुमा सबैभन्दा उच्च सेयर मूल्य हुनेमा जीवन विकास प्रतिकित्ता ३९०६ रुपैयाँ दोस्रो नम्बरमा उक्लिसकेको छ।
महिला लघुवित्तको मूल्य आज ४० रुपैयाँले घट्दा पनि प्रतिकित्ता चार हजार नौ सय ६० रुपैयाँ छ। गत चैत ३ मा ४३८ रुपैयाँबाट पहिलो कारोबार सुरु भएको महिला लघुवित्तको सेयर मूल्य पनि यसरी नै लगातार सर्किट ब्रेकर लाग्दै उक्लिँदा साढे ५७ सयसम्म पुगेको थियो।