वाणिज्य बैंकलाई नाफामा पछि पार्दै विकास बैंक

३ भाद्र २०७८, बिहीबार १६:३९

३ भदौ, काठमाडौ । व्यवसायको आकार बढाउँदै लगेका राष्ट्रियस्तरका विकास बैंकहरूले नाफामा पनि वाणिज्य बैंकलाई पछि पारेका छन् । वाणिज्य बैंक भन्दा नाफा कमाउनेमा विकास बैंक अब्बल देखिएका छन् ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४ वटा विकास बैंकहरूले सिभिल बैंकलाई खुदनाफामा पछि पारेका हुन् । निक्षेप परिचालनमा आक्रामक रूपमा अघि बढेका राष्ट्रिय स्तरका विकास बैंकले नाफामा पनि वाणिज्य बैंकलाई पछि पारेका छन् ।

हाल नेपालमा १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये ८ वटा राष्ट्रियस्तरका र १० वटा क्षेत्रीयस्तर र जिल्लास्तरका विकास बैंकहरु हुन् ।

चुक्ता पुँजी र स्रोत परिचालनका हिसावमा अझै पनि विकास बैंकभन्दा वाणिज्य बैंक नै ठूला हुन् । तरपनि उनीहरू नाफामा विस्तारै पछि पर्दै गएका छन् ।

वाणिज्य बैंकहरुलाई पछि पार्दै राष्ट्रियस्तरका आधा बढी विकास बैंक, एनबी बैंकभन्दा मुक्तिनाथ अघि

सिभिल बैंकले तेस्रो त्रैमासमा ५० करोड २५ लाख रुपैयाँ खुदा नाफा गरेको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

पुँजीगत आधार सिभिल बैंक ठूलो छ । उसको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी छ । यस्तै विकास बैंकको साढे २ अर्ब रुपैयाँदेखि साढे ४ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी छ । निक्षेप परिचालन र कर्जा लगानीमा पनि सिभिल बैंकको बढी छ ।

तेस्रो त्रैमासमा सिभिल बैंकले नाफा ३९ प्रतिशतले बढाएको छ । यस्तै मुक्तिनाथको ४८.७५ प्रतिशतले बढेको छ । ज्योति विकासको ३८, गरिमाको ३६.६३ र कामना सेवाको १७२ प्रतिशतले नाफा बढेको छ ।

यसैगरी, गरिमा विकास बैंकको ६७ करोड ८२ लाख, ज्योति विकास बैंकको ६० अर्ब र कामना सेवा विकास बैंकको खुदनाफा ५८ करोड ६१ लाख रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *