एमसीसी परियोजनामा कानून विपरीत साढे ४१ करोड खर्च
भदौ ६, काठमाडौं । मिलेनियन च्यालेञ्ज कर्पोरेसन परियोजनाअन्तर्गत स्थापित मिलेनियम च्यालेन्ज नेपाल अकाउन्टबाट कानुन विपरीत साढे ४१ करोड रुपैयाँ बढी खर्च भएको देखिएको छ ।
महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ सम्ममा ४१ करोड ६४ लाख ६३ हजार रुपैयाँ नियम विपरीत खर्च भएको उल्लेख छ । शीर्षक नै उल्लेख नभएका क्षेत्रमा यो रकम खर्च भएको र अर्थमन्त्रालयले एमसीए अकाउन्टका लागि वार्षिक रुपमा विनियोजन गरेको पैसा नभई अर्को कार्यक्रमबाट रकमान्तर गरेर खर्च गरेको प्रतिवेदनमा जनाइएको छ ।
नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन बीच २०७४ भदौ २९ मा भएको सम्झौता कार्यान्वयन गर्न विकास समिति ऐन २०१३ को दफा ३ बमोजिम मिलेनियम च्यालेन्ज नेपाल एकाउन्ट गठन भएको थियो ।
उक्त सम्झौताअनुसार अमेरिकी सरकारले अनुदानस्वरुप ५० करोड अमेरिकी डलर उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट १३ करोड अमेरिकी डलर खर्च गर्ने ब्यवस्था उल्लेख छ ।
‘सम्झौता बमोजिम नेपाल सरकारले व्यहोर्ने सीडीएफतर्फको रकममा एमसीसीको बजेट रोक्का गरेको भनी अर्थमन्त्रालयबाट पटक–पटक रकमान्तर गरी नेपाल सरकारतर्फ सडक मर्मत तथा सम्भार परियोजना तथा कार्यक्रम व्यवस्थापन र प्रशासनिक खर्चमा हालसम्म अमेरिकी डलर ३५ लाख २० हजार अमेरिकी डलर अर्थात ४१ करोड ६४ लाख ६३ हजार खर्च गरेको छ,’ ।
महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यसरी एमसीसी स्रोततर्फको रकम प्राप्त नभएको अवस्थामा नेपाल सरकारको स्रोतबाट सम्झौतामा उल्लेख नभएका कार्यमा समेत खर्च गरेकाले नियमसम्मत र औचित्पूर्ण देखिएन ।’
परामर्शदाता कम्पनीका लागि खर्च भएको २० करोड ६३ लाख रुपैयाँमा मितव्ययिता कायम हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।