मर्जरको लागि पार्टनर खोज्दै बैंक अफ काठमाण्डू, प्राथमिकतामा ग्लोबल आइएमई

६ भाद्र २०७८, आईतवार ०९:४७

भदौ ६, काठमाडौं । बैंक अफ काठमाण्डू ९बीओके० र ग्लोबल आइएमई बैंक बिच मर्जरको छलफलले तीव्रता पाएको छ। यी दुवै बैंकका ​सञ्चालकहरूबिच भएको पछिल्लो छलफलले मर्जरलाई निष्कर्षतिर लगेको हो ।

पोर्टफोलियोको आकारमा अन्य बैंकहरुले उछिन्न थालेपछि रन्थनिएको बैंक अफ काठमाण्डू आकारलाई ठूलो बनाएर मात्र प्रतिफल लिन सकिने परिदृश्य देखिएपछि ठूलो पोर्टफोलियोका बैंकलाई राम्रै स्वाप रेसियो दिएर भएपनि लिन खोजेको चर्चा हुन थालेको छ ।

बैंक अफ काठमाण्डूले मर्जरको लागि मेगा बैंक, सनराइज बैंक र सिद्धार्थ बैकसँग पनि छलफल जारी नै राखेको छ। यी बैंकहरु बिच एक आपसमा मर्ज गर्ने विषयमा पटक पटक छलफल भएको सम्बन्धित बैंकका सञ्चालकहरूले स्वीकार गरेका छन्।

केहिदिन अघि चन्द्रागिरि रिसोर्टमा दुवै बैंकका सञ्चालक र जिम्मेवार अधिकारीहरू बिच भएको अनौपचारिक छलफलमा मर्जरको प्रक्रिया र त्यसकालागि आवश्यक पर्ने प्राविधिक विषयका बारेमा लगभग कुरा टुङ्ग्याएको स्रोतले जनाएको छ। त्यहाँ समझदारी पत्रको प्रारम्भिक खाका समेत तयार भएको स्रोतको दाबी छ। यो विषयले अन्तिम रूप भने पाइसकेको छैन।

यदि बीओकेसँग मर्ज भयो भने ग्लोबल आइएमइ बैंक नेपाल कै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने छ । यसभन्दा पहिला करिब दुई वटा वाणिज्य बैंकहरु, कमर्स एण्ड ट्रष्ट र जनता बैंकलाई ग्लोबल आइएमइले आफूमा मर्ज गराइसकेको छ । त्यस बाहेक ग्लोबल आइएमइ बैंकले करिब डेढ दर्जन अन्य साना बैंक तथा वित्तीय संस्थाहरू आफूमा गाभिसकेको छ ।

बि.स. २०७३ सालमा बिओकेसँग लुम्बिनी बैंक १०० बराबर ८२.८१ को शेयर अनुपातमा गाभिएको थियो । त्यसपछि बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक रहेर बैंक सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *