जापानले दिएको थप ५ लाख खोप नेपाल आइपुग्यो
७ भाद्र २०७८, सोमबार १३:२७
७ भदौ, काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।
जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको ५ लाख ५९ हजार मात्रा खोप सोमवार नेपाल आइपुगेको हो । जापानबाट करिब १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ ।
यसअघि साउन २३ र २४ गते ९ लाख मात्रा र यही भदौ ५ गते २ लाख ८ हजार ७०० मात्रा खोप नेपाल आएको थियो व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ ।
अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले जानकारी दिए ।