भरतपुर अस्पतालमा अख्तियारको छापा
१७ भदौँ, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो ।
कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानका लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ उनले भने, ‘ लेखा शाखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औषधिको मौज्दातको अवस्था बुझ्छौं ।’अनियमितताको उजुरी परेपछि वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीका बारेमा समेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।
सापकोटाले बीमा गरेका र अन्य बिरामीले औषधि नपाएको भन्ने गुनासो पनि रहेको जानकारी दिए । फार्मेसी अध्ययन गरेकालाई जिम्मेवारी दिनुपर्नेमा लामो समयसम्म अहेवको भरमा फार्मेसी रहेको थियो । बोलपत्रबमोजिम औषधिको म्याद सकिएर खेर गए पनि फार्मेसी जिम्मा लिनेहरुले आफ्नो अनुकूलका व्यक्तिसँग मात्र खरिद गरेको भन्दै व्यवसायीले विरोध जनाउँदै आएका थिए । अस्पतालमा गत एक वर्षमा सात मेडिकल सुपरिटेण्डेन्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त छ ।