नेप्से सातामा करिब साढे ५ प्रतिशतले घट्यो , कुनको परिसूचक कति बढ्यो ?
१९ भदौँ, काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। गत साता ३०९४.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.४० प्रतिशत अर्थात १६७.१६ अंक घटेर २९२६.८९ विन्दुमा बन्द भएको छ।
यस साता सेन्सेटिभ इण्डेक्स ५.१८ प्रतिशत अर्थात २९.६२ अंक घटेर ५४१.७७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स ५.३१ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ५.२५ प्रतिशत घटेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १३ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ११ अर्ब ९४ करोडको शेयर कारोबार भएको छ। यस साता ५ लाख पटकको कारोबारमा ४७ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८ करोड ३२ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे ५ प्रतिशत घटेको छ। गत साता ४३ खर्ब २३ अर्ब रुपैयाँ रहेको यस्तो पूँजीकरण गत साता ५.४० प्रतिशत घटेर ४० खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ।
यस साता १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । बाँकी १२ उपसमूहको भने घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४८ प्रतिशत बढेको छ। गत साता ३५४८.५७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५२.३७ अंक बढेर ३६००.९४ विन्दुमा पुगेको छ।
यसैगरी,यता हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक ९.३६ प्रतिशत घटेको छ। गत साता ३६७४।३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ३४३.९८ अंक घटेर ३३३०.३२ विन्दुमा बन्द भएको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ हजार २९.४७ अंक घटेर १६ हजार ५४८.४७ विन्दुमा झरेको छ।
फ्लोरसिट विश्लेषण गर्दा यस साता कुमारी इक्विटी फण्ड, मिटेरी डेभलपमेन्ट बैंक, सूर्योदय लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, यस साता नेपाल दूरसञ्चार कम्पनी, माउन्टेन हाइड्रो नेपाल, सिटिजन्स म्युचुअल फण्ड २ लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।