काठमाडौँ – यो साता सेयर बजार ५१ अंकले घटेको छ। गत साता २९२७ अंक कायम गरेर बन्द भएको सेयर बजार यो साता २८७६ अंकमा बन्द भएको छ।
विगत तीन साता यता सेयर बजारको परिसूचक निरन्तर घट्दै गएको छ। भदौ २ गते ३१९८ अंकको उच्च रेकर्ड बनाएको परिसूचक त्यसयता ३२२ अंक अर्थात ११.२ प्रतिशत घटिसकेको छ।
केही लगानीकर्ता बजारले बियरिस ट्रेन्डको संकेत देखाएको बताउँछन् भने केहीले करेक्सन भएको दावी गर्छन्।
लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘बजार घट्नुमा कारण एउटा मात्रै नभई धेरै हुन सक्छन्, तर बजारले अब बियरिस ट्रेन्ड समातेको संकेत देखाएको छ।’ सेयर धितोमा १२ करोडको सीमा, ब्याजदर, तरलताको अवस्था, बढ्दो आयात, कोरोना नियन्त्रण र अरु व्यवसाय खुल्दै जानु लगायतका विषयले अब बजारलाई तत्काल समर्थन नगर्ने उनको अनुमान छ।
इतिहास हेर्दा सेयर बजार प्रायः साउन/भदौमै नयाँ अंकको रेकर्ड बन्ने गरेको पाइन्छ। यसअघि २०७३ साउन १२ गते सेयर बजारको परिसूचक नेप्सेले १८८१ अंकको उच्च रेकर्ड बनाएको थियो।
त्यसपछि ‘बियरिस ट्रेण्ड’ समाउँदै बजार २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो। त्यहीं वर्षको अन्त्यदेखि ‘बुलिस ट्रेन्ड’ थालेको बजारले दुई साताअघि मात्रै, भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गरेको हो।
सेयर बजारलाई प्राविधिक रुपमा विश्लेषण समेत गर्दै आएका राजु मुनिकार अहिले बजार करेक्सन मात्रै भएको बताउँछन्। यद्यपि यो करेक्सन २–३ महिनासम्म पनि जान सक्ने उनी औंल्याउँछन्।
राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि सेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ।