अर्थमन्त्रीको स्पष्टीकरण : शेयर मूल्य घटबढ गराउन गभर्नरलाई फोन गरेको छैन

२५ भाद्र २०७८, शुक्रबार १०:५३

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले शेयर मूल्य घटबढ गराउन नेपाल राष्ट्र बैंकको गभर्नरलाई फोन नगरेको स्पष्ट पारेका छन् ।
आर्थिक अध्यादेशको पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले शेयर मूल्यको सन्दर्भमा कसैलाई पनि फोन नगरेको बताए ।

‘मान्य सांसदले समाचारका आएका केही विषयलाई लिएर प्रश्न उठाउनु भएको रहेछ,’ सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘तर, मैले शेयर मूल्य घटाउन वा बढाउनका लागि गभर्नरलाई फोन गरेको छैन ।’ एमालेको अवरोधकाबीच जारी बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विनियोजन, राष्ट्र ऋण उठाउने र अर्थिक अध्यादेश पेश गर्दैै छलफल समेत भएको छ ।

अर्थमन्त्रीले शेयर बजार प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै सांसद सुवालले आलोचना गरेका थिए । ‘अर्थमन्त्री ज्यूले अस्ति ३७ लाख शेयर कारोबार गर्ने मान्छे, फाइदा लिने सय जना भन्नु भएको थियो’, उनले संसदमा भने, ‘अर्थमन्त्री ज्यूले गभर्नरलाई फोन गरेपछि सेयर भाउ बढ्यो। कसको स्वार्थका लागि फोन गरेर बढाउनु भयो ?’

सिटामोल खाएर काम गर्ने मजदुरको निम्ति बढाएको भन्दै सुवालले अर्थमन्त्री शर्मामाथि कटाक्ष पनि गरेका थिए । त्यसपछि शर्माले रोष्ट्रममा उक्लिएर जवाफ दिएका हुन् । ‘मैले गभर्नर समक्ष फोनमा कुरा गरेको समाचारमा कतै आएको होला, तर त्यो सत्य होइन’, उनले स्पष्टीकरण दिँदै भने, ‘आन्तरिक घोटालाबारे उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको छ ।’
शेयर बजारको उतारचढावलाई लिएर आन्दोलन भइरहँदा यही सोमबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा परेको प्रभावबारे गभर्नर अधिकारीलाई टेलिफोन गरेका थिए ।

त्यसक्रममा उनले पुँजी बजारको पछिल्लो अस्थिरतालाई सहज बनाएर आन्दोलनको अवस्था अन्त्य गर्न भनेका थिए । उनले त्यसक्रममा सुधार गर्न आवश्यक कुरा मिलाएर पुँजी बजारलाई अघि बढाउन पनि गभर्नरसँग भनेका थिए । त्यसक्रममा गभर्नर अधिकारीले तत्कालै आवश्यक व्यवस्था गरेर परिस्थिति सहज बनाउन कोशिस गर्ने जवाफ दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आजै १५ मिनेटपछि राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *