एमसीसी सम्झौता अघि बढाइए प्रतिकार गर्छौं : प्रकाण्ड

२८ भाद्र २०७८, सोमबार ०८:२२

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जबरजस्ती एमसीसी सम्झौता अघि बढाइए प्रतिकार गर्ने चेतावनी दिएका छन्।

एमसीसी सम्झौताविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले नेपालका दलहरुलाई खबरदारी गरेका हुन्।

संसदीय चुनावलाई नेपाली राजनीतिबाट खारेजी गरेर नेपालमा जनमत संग्रह गर्नुपर्ने उनले बताए। उनले सबैले जनमत संग्रहमा साथ दिनुपर्ने भन्दै एकीकृत जनक्रान्ति आवश्यक रहेको बताए।

‘विदेशीको पाउमा परेर सत्ता र कुर्सी स्वार्थका निम्ति नेपाली भूमि बेचबिखन गर्ने काम भयो भने नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको आँधिबेहरी थाल्नेछ,’ उनले भने, ‘देउवाजीको नेतृत्वको सरकार संकटको भूमरीमा परेको छ। ६/७ महिनापनि चल्छ की चल्दैन।’

उनले एमसीसी सम्झौता गर्ने पहिलो गल्ती गरिसकेको भन्दै प्रधानमन्त्री देउवालाई अहिले त्यो सच्चाउने अवसर रहेको बताए। ‘केही समयदेखि देशव्यापी रुपमा नेपाली जनताले एमसीसीविरुद्ध आन्दोलन गरिरहेका छन्। शासकहरुले आफ्नो स्वार्थका लागि गलत गरे भने त्यसको प्रतिवाद जनताले गर्ने छन्’, उनले भने, ‘अमेरिकी हस्तक्षेप र शासक नै मन पर्छ भने नेपालमा किन बस्नुहुन्छ अमेरिकातिरै जानुस।’

उनले विगतदेखिका थुप्रै असमान सन्धी सम्झौता एकमुष्ट खारेजी गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *