खुल्यो विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा
७ असोज, काठमाडौं । सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल खुल्ला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा पाउने छन् ।
सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै विदेशी पर्यटकहरुका लागि अनअराइभल भिसा खुल्ला गरेको जनाएको छ ।
यगैगरी, अब विदेशी पर्यटकहरूका लागि नेपाल खुल्ला भएको छ । तर, विदेशी पर्यटकहरुले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणसँगै ७२ घण्टा भित्रको कोभिड परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । यसका साथै पर्वतारोहण र पदयात्रा लागि आउने पर्यटकले सोको अनुमति र बस्ने होटल बुक गरेको प्रमाणपत्र समेत पेस गर्नुपर्ने सरकारले जनाएको छ ।