मध्य भोटेकोशीको आईपीओ भोलि बाँडफाँड हुँदै, यस्तो छ तयारी
१० असोज, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ भोलि बिहान ९ बजे बाँडफाँड हुनेछ।
कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म स्थानियका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं.१ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स, )बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन्। जसअनुसार यो आईपीओमा ३.२२ गुणाले ओभरसब्सक्राइडब्स भएको छ।