व्यवसायीको माग सम्बोधन गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

१३ आश्विन २०७८, बुधबार ०८:२५

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताएकी हुन्। उनले सरकारले सञ्चारलाई गाउँ-गाउँमा पुर्‍याउनुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन ।

मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताइन्। निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेसागत जीवनमा परेका समस्या र चुनौतीहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवादद्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने बताइन्।

मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन्। उनले आजको विद्युत् प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *