अफगानिस्तानमा उडान सञ्चालन गर्न भारतलाई तालिबानको आग्रह
१४ आश्विन २०७८, बिहीबार ०८:५६
काठमाडौं– अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतबीच हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ।
तालिबान सरकारका एक अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडान सुचारु गरिदिन आग्रह गरेका हुन्।
यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडान बन्द गरेको थियो।
तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए।
पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ।
भारतसँगै अन्य कतिपय देशले अहिले पनि उडान सञ्चालनमा ल्याएका छैनन्।