साहस उर्जाको आईपीओ प्रि-अलोटमेण्ट शुक्रवार सम्पन्न, कहिले हुन्छ बाँडफाँट ?

१५ आश्विन २०७८, शुक्रबार ११:४४

काठमाडौं ।साहस उर्जा लिमिटेडकोे आईपीओ प्रि अलोटमेण्ट शुक्रवार सम्पन्न भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको जानकारी दिएको हो । बोर्डको स्वीकृति प्राप्त भए आइतवार आईपीओ बाँडफाँट गरिने जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।

कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओ खरिदका लागि २४ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीले रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गरेको हो ।

आइपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार हिजो साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन हो ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला ‘दुधकोशी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्राथमिक शेयर निष्काशन पछि
कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

इक्रा नेपालले प्राथमिक शेयर निष्काशनका लागि गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको जोखिमको संकेत गर्ने ‘इक्रा आइआर डबल बि’ प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds