काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का उच्च तहका पदाधिकारीलाई प्रभावित पार्ने उद्देश्यले रक्सी उपहार दिनेहरुको संख्या बढिरहेको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्।
मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने उपहारप्रति उच्च तहका केही कर्मचारीमा रक्सी मोह देखिएको छ। दशैंमा रक्सी र तिहारमा मिठाई उपहारका नाममा उच्च तहका पदाधिकारीले स्वीकार्ने गरेका छन्।
चाडपर्वमा उपहारस्वरुप रक्सी बोकेर पुग्नुको कारण नियामक निकायलाई प्रभाव पार्ने भित्रि उद्देश्य रहेको हुन्छ। रक्सी पुर्याउने मुख्यतः मर्चेन्ट बैंकरहरु हुन्छन्। सेबोन कार्यालय खुमलटार पुगेकाहरु रक्सीका बोत्तल बोकेर हाकिमहरुका दैलोदैलो चहार्ने गरेको सेबोन स्रोतले जानकारी दिएको छ।
हाकिमहरुलाई उपहार दिने क्रम दशैंमा मात्रै हुँदैन। तिहार आउन लाग्दा मिठाई बोकेर पुग्नेहरु पनि उनै हुन्छन्। मर्चेन्ट बैंकरको साथै उपहार बोकेर जानेमा केही शेयर ब्रोकर पनि रहेको बताइएको छ। रक्सी र मिठाई उपहार दिँदा त्यसलाई स्वीकार्ने केही निश्चित व्यक्ति रहेको बताइएको छ। उच्च तहका केहीले भने त्यसलाई अस्वीकार गर्ने गरेका छन्। रक्सी तथा मिठाई अस्वीकार गर्नेमा १/२ जना मात्रै रहेको बताइन्छ।
नियमनकारी निकायमा बसेका व्यक्तिलाई प्रभावित पार्ने भित्रि चाह भएर नै उनीहरु उपहार बोकरे सेबोन कार्यालय पुग्ने गरेका हुन्। ‘नियामक निकायमा बसेर स्वार्थ मिल्नेगरि कसैले दिएको उपहार ग्रहण गर्न आफैंमा अवैधानिक कार्य पनि हो’, सेबोन स्रोतले भन्यो,‘ उपहार लिएपछि स्वार्थ जोडिन्छ नै। नियमनकारी निकायमा बसेको व्यक्तिले रक्सी लिएपछि उनीहरुकै कुरामा इन्फुलियन्स हुनपर्यो।’
कार्यालयमा पुगेर हस्तान्तरण गर्दा कार्यरत कर्मचारी समेत लज्जित हुनुपरेको एक कर्मचारीले बताए। सेबोनमा रक्सी ल्याउने कार्यलाई संस्कृतिकै रुपमा विकास भएकोप्रति केही कर्मचारीले आपत्ति जनाएका छन्।
‘दिउँसो ३ बजेदेखि ५ बजेसम्म रक्सी ल्याउनेको लाइन नै हुन्छ। सिसिटिभीमा देखिनेगरि रक्सी बोकेर हिंडेको देखिन्छ। नियामक निकायको बेइज्जत भएको छ’, सेबोन स्रोतले भन्यो।
चार दिनअघि देखि सुरु भएको रक्सी ल्याइदिने क्रम घटस्थापनासम्म जारी रहने बताइएको छ।
सरकारी अन्य केही निकायका उच्च तहका केही व्यक्तिलाई पर्वको अवसरमा रक्सी नै उपहार स्वरुप दिने प्रचलन रहेको बताइन्छ। तर, कार्यालयमा पुगेर हस्तान्तरण गर्ने प्रचलन भने छैन। सेबोन कार्यालयमा भने खुल्लमखुला रक्सी बोकेर स्वार्थ समूह पुगेको बताइएको छ।