Banking Khabar
Heading1

हुवासिन सिमेन्टलाई विद्युत् दिने स्वीचिङ स्टेसन सञ्चालनमा

October 17, 2021
सेयर:

काठमाडौं- धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ। मर्स्याङदी-स्युचाटार १३२ केभी प्रसारणलाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका-६ मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो।

तनहुँस्थित तल्लो मर्स्याङदी विद्युतगृहबाट आएको प्रसारणलाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। प्रसारणलाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ। हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको बेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए। ‘अन्य समयमा मर्स्याङदी-स्यूचाटार १३२ केभी ट्रंकलाइन बन्द गर्नसक्ने अवस्था नै थिएन, त्यसैले दशैंको बेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो। कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारणलाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ। प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो।

कार्यकारी निर्देशक घिसिङका अनुसार, स्वीचिङ स्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन्। ‘स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गरिने छ,’ उनले भने, ‘यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ।’