काठमाडौं– नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो। आज (सोमबार) दिउँसो ३ बजे ट्रेजरी बिल विक्री हुने जनाइएको छ।
ट्रेजरी बिलको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ। आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।
मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको टे«जरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ। २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्दछ। नेपालमा हाल २८ दिने टेजरी बिल प्रचलनमा आएको देखिँदैन।