बेमौसमी वर्षाले ७ अर्ब २२ करोडको धान नष्ट

७ कार्तिक २०७८, आईतवार ०८:२१

काठमाडौं– असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाले ७ अर्ब २२ करोडको धानबाली नष्ट भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार सर्वाधिक धानमा क्षति लुम्बिनी प्रदेशमा भएको छ।

बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा कृषकले काटेको धान पानीमा डुबेको थियो। त्यसबाट कृषकलाई ४ अर्ब ५१ करोडको क्षति पुगेको छ। वर्षाले उक्त प्रदेशमा एक लाख ६१ हजार २२३ मेट्रिक टन धानमा क्षति पुर्‍याएको छ। वर्षाले असर गरेको क्षेत्रफल ९३ हजार ५७६ हेक्टर छ भने क्षति पुगेको क्षेत्रफल ४२ हजार ४२७ हेक्टर रहेको छ।

लुम्बिनीपछि सुदूरपश्चिममा क्षति भएको छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा वर्षाले धेरै क्षति पुर्‍याएको छ। ती दुई जिल्लामा एक अर्ब ९१ करोड बराबरको धान नष्ट भएको मन्त्रालयले आकडा निकालेको छ।

सुदूरपश्चिममा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीलाई वर्षाले असर गरेको थियो। त्यसमध्ये १८ हजार हेक्टरमा लगाइएको धान नष्ट भएको छ। ६८ हजार ४०० मेट्रिक टन धानलाई वर्षातले क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मोरङ, झापा र सुनसरीको धानबाली नष्ट भएको छ।

प्रदेश १ का तीन जिल्लामा ८० करोडको धान वर्षाले नष्ट भएको छ। वर्षाले प्रदेश १ मा २८ हजार ४६९ मेट्रिक टन धानको विनास गरेको मन्त्रालयको भनाइ छ। ७ हजार ४९२ हेक्टर क्षेत्रफलको धान पूर्ण रुपमा नष्ट भएको छ। वर्षाले असर गरेको धानबालीको कुल क्षेत्रफल ४९ हजार ९४५ रहेको मन्त्रालयले जनाएको छ।

मुख्यतः तीन प्रदेशमा वर्षाले काटेको धानलाई क्षति पुर्‍याएको मन्त्रालयले जानकारी गराएको छ। मन्त्रालयका अनुसार एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा वर्षाले असर पुर्‍याएको छ। तीनै प्रदेशमा गरी ६७ हजार ९१९ क्षेत्रफलको धान पूर्ण रुपमा नष्ट भएको छ। दुई लाख ५८ हजार ९२ मेट्रिक टन धान वर्षाले क्षति गर्दा ७ अर्ब २२ करोड किसानको गुमेको मन्त्रालयको तथ्यांक छ।

सातै प्रदेशमा वर्षाले बालीमा पुर्‍याएको क्षतिको सम्पूर्ण विवरण लिनका लागि मन्त्रालयले सबै प्रदेशमा टोली पठाएको छ। एक साताको समय दिइएको उक्त टोलीले स्थलगत अवलोकन पनि गर्नेछ। यसै साता मन्त्रालयले सातै प्रदेशका कृषि मन्त्री तथा सचिवलाई काठमाडौं डाकेर छलफल गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *