काठमाडौं– सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया सुरु गरेको छ।
गत बिहीबार नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सूचाना प्रकाशित गरेको अर्थ मन्त्रालयले पूँजीबजारको नियामक निकायका दुई जना प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढाएको हो।
नेप्सेका अध्यष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि उक्त पद रिक्त थियो भने नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदबाट चन्द्र सिंह साउदले राजीनामा दिएपछि सो पनि पद पनि खाली छ। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि अध्यक्ष ढुंगानालाई बर्खास्त गरिएको थियो भने नेप्से प्रमुख राजीनामा दिएर बाहिरिएका थिए ।
खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाएको सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागिसार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ। उक्त पदका लागि १५ दिन भित्रमा शिलबन्दी बोलपत्र आवेदन माग गरिएको छ।
प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यावसायिक कार्ययोजनासमेत पेश गर्नुपर्नेछ। उक्त पदका लागि बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्नेछ। आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। दरखास्त आवेदनसँगै ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ। आवेदन दिने म्याद भने कात्तिक २७ गतेसम्म रहेको छ ।
अर्थ मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएको छ । उक्त समितिले आवेदकमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ। ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले सीईओ नियुक्ति गर्नेछ।