राष्ट्र बैंकले आज एक अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं– नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो। आज (सोमबार) दिउँसो ३ बजे ट्रेजरी बिल विक्री हुने जनाइएको छ।
राष्ट्र बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँबराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी १ अर्ब ६६ करोड रुपैयाँको टे«जरी बिल सोमबार जारी गर्न लागेको हो। बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ। यसअघि यही कात्तिक ८ मा बैंकले ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो।
ट्रेजरी बिलको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ। आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ।
के हो ट्रेजरी बिल
मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ। २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ। नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन।