वाणिज्य बैंकले बोर्डबाट निर्णय गरेर मात्रै निगमको पाँच अर्ब निक्षेप फिर्ता गर्ने
काठमाडौं – तरलता अभाव चर्किरहेका वेला नेपाल आयल निगमले विभिन्न बैंकमा निक्षेप राखेको १८ अर्ब झिक्ने निर्णयले बजार तरंगित बनेको छ । निगमले राष्ट्रिय वाणिज्य बैंकमा पाँच अर्ब निक्षेप राखेको छ । निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निक्षेप खातामा राखेकोमध्ये परिपक्व हुने एक अर्ब झिक्ने र बाँकी चार अर्ब परिपक्व हुने समयसम्म कुर्ने निर्णय भएको बताए । ‘हामीले ८ नोभेम्बर (२२ कात्तिक)मा तेल खरिद गरेबापत इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई १४ अर्ब रुपैयाँ पठाउनेछौँ,’ साहले भने, ‘त्यसमध्ये एक अर्ब राष्ट्रिय वाणिज्य बैंकबाट झिक्ने कुरा भइसकेको छ । तेल बेचेर उठेको रकमसमेत गर्दा अपुग हुने थप रकम अन्य बैंकबाट लिनेछौँ ।’ बैंकबाट सबै रकम झिक्न खोज्दा परिपक्व नभएको रकम सामान्य प्रक्रियाबाट झिक्न नमिलेको उनले बताए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले परिपक्व हुन बाँकी रकम दिनका लागि नीति बनाउनुपर्ने बताए । ‘हामीले आयल निगमको निक्षेप दिन्न भनेका छैनौँ । उहाँहरूले दुईवटा मुद्दतीमा रकम राख्नुभएको छ । एउटा खाताको भोलिपर्सि नै परिपक्व हुँदै छ,’ सिइओ श्रेष्ठले भने, ‘परिपक्व नभएको मुद्दती झिक्न नीति बनाउनुपर्छ । केही दिन पर्खनुस् भनेका छौँ ।’
रावा बैंकबाहेक निगमले कृषि विकास र नेपाल बैंकमा समान दुई–दुई अर्ब निक्षेप राखेको छ । अन्य वाणिज्य बैंकहरूमा २० देखि ५० करोड रुपैयाँ निक्षेप छ । तेल किनेको पैसा तेल बेचेर तिर्न नपुग्ने भएपछि सबै बैंकलाई निक्षेप झिक्नेबारे निगमले जानकारी गराइसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यअनुसार इन्धन खरिद गर्न आयल निगमलाई आइओसीले नयाँ मूल्य पठाएको छ । निगम प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार नयाँ मूल्य प्रतिलिटर पेट्रोल ७.४२, डिजेल ३.९२ र मट्टीतेल ११.४९, हवाई इन्धन ४.११ रुपैयाँ प्रतिलिटर बढेर आएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास दुई सय ४६ रुपैयाँ ९७ पैसा प्रतिसिलिन्डर बढेर आएको छ । ‘नयाँ मूल्य ठूलो अन्तरले बढेर आएको छ । तर, हामीले पुरानै मूल्यमा तेल बेचेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले आउँदो १५ दिनमा तीन अर्ब दुई करोड रुपैयाँ नोक्सान हुने देखिएको छ ।’ आयल निगमले हाल दैनिक औसतमा ७० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरिरहेको छ । शनिबार बिदा हुने भएकाले शुक्रबार भने धेरै तेल बिक्री हुने र सो दिन औसतमा ८०–९० करोड रुपैयाँको इन्धन बिक्री हुने गरेको छ ।