कहिले कार्यान्वयन हुन्छ बढ्दै गइरहेको प्राणघातक वायु प्रदूषण रोकथामका कार्ययोजना ?
केही दिनदेखि हावाको गति कमजोर बनेपछि काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । यसले गर्दा आकाश धुम्मिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थेग्रिएर बसेको बताए ।
केही दिनदेखि हावाको गति कमजोर बनेपछि धुम्मिएको काठमाडौंको आकाश ।
‘यो हट्न कि पश्चिमी वायुको गति बढ्नुपर्छ कि वर्षा हुनुपर्छ,’ उनले मंगलबार कान्तिपुरसित भने, ‘पश्चिमतिरबाट कमजोर प्रणाली भित्रिँदै छ । त्यसले हल्का वर्षा गरायो र हावाको गति बढायो भने तैरिएर बसेको प्रदूषण हट्छ र आकाश सफा हुन सक्छ ।’
काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) केही दिनयता बढ्दै गएको छ । मंगलबार विराटनगर र सिमरामा एक्यूआई ह्वात्तै बढेको छ । मंगलबार साँझ विराटनगरको एक्यूआई प्रतिघण्टा ३०८ र सिमराको २१६ थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्यूआई २०१ नाघे त्यो क्षेत्रलाई अस्वस्थकर मानेको छ । उसले एक्यूआई ३५ लाई स्वस्थ, २०१–३०० लाई अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानेको छ ।
केही दिनदेखि काठमाडौंसहित तराईका विभिन्न स्थानमा भिजिबिलिटीसमेत घट्दो छ । मौसमविद् प्रधानका अनुसार मंगलबार काठमाडौंको भिजिबिलिटी ५ किलोमिटर थियो । जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसमेत रहेका पूर्वसचिव ऋषिराम शर्मा चिसोको मात्रा बढेसँगै हावाको वेग घट्ने भएकाले वायुमण्डलमा प्रदूषण तैरिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘हावा पनि नचल्ने र वर्षा पनि नभएका बेला प्रदूषण जहाँको त्यहीं तैरिएर बसेको हुन्छ,’ उनले भने, ‘एक–दुई दिनयता काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भएको त्यही हो ।’ पहाडी र हिमाली भागको वायुमण्डलमा भने प्रदूषणको मात्रा बढेको छैन, आकाश पनि सफा छ ।
हिउँदमा तराई र अन्य भागमा कृषि बाली भित्र्याएपछि घाँस पलाउने लोभमा आगो बाल्ने परम्परा कायमै हुँदा त्यसको असर वायुमण्डलमा परेको शर्मा बताउँछन् । ‘सुक्खायाममा त्यो पनि हावा नचलेका बेला प्रदूषण थपियो भने वायुमण्डल स्वत: धुम्मिन्छ,’ शर्माले भने । गत वर्ष पनि वायुमण्डलमा अत्यधिक प्रदूषण बढेर आँखा पोल्ने र दिउँसै अँध्यारो भएपछि सरकारले विद्यालय नै बन्द गरेको थियो ।
त्यो बेला काठमाडौंसहित देशका विभिन्न भागको वायु गुणस्तरले जोखिम र घातक तह नाघेको थियो । वातावरण विभागका विज्ञ शंकरप्रसाद पौडेलले यो वर्ष भने वायुको गुणस्तर सूचकांक गत वर्षजस्तो नभएको बताए । ‘विराटनगर र सिमरामा बाहेक अन्यत्र प्रदूषणको मात्रा अस्वस्थ छैन,’ उनले भने । तर, सीमा जोडिएको दक्षिणी भागबाट प्रदूषण भित्रिरहेकाले नेपाली आकाशमा त्यसको असर देखिन थालेको उनले बताए । ‘यो हट्नका लागि पश्चिमतिरबाट द्रुत गतिको वायु चल्नुपर्छ,’ उनले भने ।
वायु प्रदूषणको जोखिमबाट यसरी जोगिऔं
स्विट्जरल्यान्डमा मुख्यालय रहेको एयरक्वालिटी टेक्नोलोजी कम्पनी ‘आईक्यू एयर’ ले मंगलबार दिनभरजसो काठमाडौंलाई विश्वका ९३ सहरमध्ये एक्यूआई बढी भएको १० सहरभित्र राखेको थियो । पहिलो नम्बरमा भने बंगलादेशको ढाका थियो । गत वर्ष पनि उसले काठमाडौंलाई पहिलो सूचीमा राखेको थियो ।
विभागका अनुसार मंगलबार बेलुकी वायुको गुणस्तर सूचकांक (प्रतिघण्टाका हिसाबले) पोखरामा १९८, धनकुटामा १७६, त्रिवि परिसरमा १६४, धनगढीमा १६३, रत्नपार्कमा १५६, भक्तपुरमा २५, जनकपुर ९१, हेटौंडामा ११, शंखपार्कमा ७४ र रारामा ५ पुगेको थियो । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
त्यस्तै काठमाडौंमा हावामा हानिकारक कणको मात्रा पनि अत्यधिक हुने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । जाडो महिनामा मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा उच्चस्तरमा पुग्ने गरेको छ । काठमाडौंमा सरकारले तोकेको पीएम १० को मापदण्डभन्दा पाँच गुणासम्म बढी पाइएको छ । केन्द्रका अनुसार शुक्रबार भैंसेपाटीमा पीएम १० को मात्रा ३ सय ८० माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । २.५ को हानिकारक कणको २ सय १६ माइक्रोग्राम पुगेको छ । माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ ।
‘स्टेट अफ ग्लोबल एयर–२०२०’ का अनुसार नेपालमा प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । प्रदूषणकै कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । जानकारहरूका अनुसार साना कण श्वासनलीमार्फत फोक्सोसम्म पुग्छन् । मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती हाम्रो शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।
ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।
सरकारले २०७६ सालमा स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्यूआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । कार्ययोजनामा उपत्यकाको वायु प्रदूषण नियमन गर्न आकर्षित धेरै कार्यक्रम प्रस्ताव गरिए पनि सरकारले तिनलाई कार्यान्वयनमा ल्याउन सकेको छैन । कार्ययोजनामा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न एक वर्षभित्र चार्जिङ सुविधा भएका बस टर्मिनलहरू एवं चार्जिङ स्टेसनहरूको विकास गर्ने, पर्यटकीय तथा सांस्कृतिक रूपमा संवेदनशील क्षेत्रमा धूवाँरहित सवारीसाधन, रिक्सा, साइकलमात्र चल्न दिइने उल्लेख छ । ‘अबको ५ वर्षभित्र १० स्थानमा विद्युतीय सवारी रिक्सामात्र चलाइनेछ,’ कार्ययोजनामा छ, ‘पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गरिनेछ र विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न अनुदानको व्यवस्था हुनेछ ।’
योजनामा प्रदूषणरहित परिवहन प्रणालीको विस्तृत सम्भाव्यता अध्ययन गर्ने, दुई वर्षभित्र बस द्रूत परिवहन र ६ लेनभन्दा माथिका सडकमध्ये कम्तीमा कुनै एक स्थानमा परीक्षणका रूपमा बसका लागि छुट्टै लेनको व्यवस्था गरिने प्रस्ताव छ । काठमाडौं दिगो सहरी यातायात परियोजनाले तर्जुमा गरेको सवारी रुट पुन: समायोजन योजना कार्यान्वयन गरिने लक्ष्यसमेत तोकिएको छ ।
वातावरणविद् भूषण तुलाधर कार्ययोजनामा थुपै्र काम गर्ने भनिए पनि झिना मसिनाबाहेक गर्नुपर्ने मुख्य कामको सुरुवात नै नभएको बताउँछन् । ‘पटक–पटक वातावरण मन्त्रालयलाई झकझक्याएका छौं,’ उनले भने, ‘तैपनि कार्ययोजना कार्यान्वयनमा पहलदकमी भएको छैन । जसले गर्दा समस्या जहाँको त्यहीं छन् ।’
वातावरणमन्त्रीको अध्यक्षतामा बस्ने भनिएको समन्वय समितिको बैठक दुई वर्षमा एकपटक पनि बसेकै छैन भने वातावरण सचिवको अध्यक्षतामा बस्ने समन्वय बैठक अहिलेसम्म जम्मा एकपटक बसेको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले चिसो बढेपछि प्रदूषण पनि बढ्ने र त्यसपछि मात्र सबैले चासो दिने गरेको बताउँछन् ।
मंगलबारको एक्यूआई (प्रतिघण्टा)
विराटनगर– ३०८
सिमरा– २१६
पोखरा– १९८
धनकुटा– १७६
त्रिवि परिसर– १६४
धनगढी– १६३
रत्नपार्क– १५६
भक्तपुर– २५
जनकपुर ९१
हेटौंडा– ११८
शंखपार्क–७४
रारा– ५