एमाले केन्द्रिय सदस्यमा युवानेता चन्द्र रिजालको उम्मेदवारी
यतिखेर नेपालका राजनीतिक दलहरुको महाधिवेशनको मौसम चलिरहेको छ । खासगरी मुख्य राजनीतिक दलहरुको महाधिवेशन र त्यसपछि आउने नेतृत्वका बारेमा आम मानिसको ध्यान खिचिएको छ । दलहरुबाट अब कस्ता नेतृत्व आउँछन, त्यसबाट नेपालको आगामी दिनको मार्गचित्र निर्देशित हुनेछ ।
दलहरु आअफ्ना एजेन्डा र टीम बनाए चुनाब केन्द्रित अभियानमा लागिरहेका छन । यसैबीच, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी चन्द्र रिजालले नेकपा एमालेको दशौं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको उद्योग व्यवसायी जिल्ला कमिटी अध्यक्ष तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य र पर्यटन केन्द्रीय विभागको सचिवसमेत रहेका रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
१३ वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सर्वसम्मत चयन भएका उनी ट्रेकिङ एजेन्सिज एसोसियन नेपालको पूर्वअध्यक्ष पनि हुन् । पार्टीभित्र र आम मानिसहरुको बीचमा रिजाल एक कुशल संगठक, बैचारिक पात्र, सामाजिक र गतिशिल युवानेताको रुपमा परिचित छन । पार्टीमा बिगत लामो समयदेखि निष्ठा र इमानदारीपुर्बक कृयाशिल भएर पनि अवसर कम पाउने नेताभित्र पर्दछन रिजाल ।
दश वर्षको उमेरदेखि २८ वर्षसम्म अनेरास्ववियुका प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म सक्रिय रिजाल २०४६ सालमा नेकपा (माले) को युथ लिगमा संगठित भएका थिए । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्तिपछि उनले पार्टीको ईलाका कमिटीमार्फत् सांगठनिक जीवन सुरु गरेका थिए ।
उनले एमालेलाई थप सुदृढ र उत्पादनसँग जोड्ने नीति कार्यान्वयनका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् ।