एक किलो खाद्यान्नकै ढुवानी भाडा सय रुपैयाँ ?

२१ मंसिर २०७८, मंगलवार ०३:५७

दोलखा — चीनसँग सीमा जोडिएको लप्चीका बासिन्दा नाका बन्द भएपछि खाद्यान्न लिन लामाबगर झरेका छन् । दुई वर्षदेखि लप्ची नाकामा चिनियाँ पक्षले कडाइ गरेपछि उनीहरू तीन दिनको पैदल हिँडेर खाद्यान्न जोहो गर्न लामाबगर झरेका हुन् । जोखिमपूर्ण बाटोका पहिरो छिचोल्दै एकअर्काको हात समातेर तीन दिनमा लप्चीवासी खाद्यान्न लिन लामाबगर आइपुगेका हुन् ।

चीनले सीमामा कडाइ गरेपछि जोखिम मोलेर लामाबगरबाट खाद्यान्नलगायतका सामान ढुवानी गर्दै लप्चीवासी । तस्बिर सौजन्य : कोन्जोक तेन्जिङ शेर्पा

सीमानजिकैको चिनियाँ बजारमा उनीहरूलाई खाद्यान्न लिन जान रोक छ । माथिल्लो भेगमा हिमपात भएसँगै लप्चीवासी लुम्नाङ झरेका छन् । लुम्नाङ झरेका उनीहरूले लामाबगरबाट प्रतिकिलो सय रुपैयाँ तिरेर खाद्यान्न ढुवानी गरिरहेको मेलारेप्पा गुम्बाका प्रमुख लामा चुनछिरिङ लामाले जानकारी दिए । ‘उत्तरतर्फको बजारमा कडाइ छ, चिनियाँ पक्षले जान दिँदैन,’ उनले भने, ‘भीरको बाटो पहिरो छिचोल्दै नेपालबाटै खाद्यान्न लैजान थालेका हौं ।’ लप्चीवासीको मुख्य किनमेलको बजार चीनको फलाक र कुती हो । दुई वर्षदेखि त्यता जान नपाइएको लामाले बताए । उता गइहाले चिनियाँ पक्षले दुर्व्यवहार गरेर पठाउने गरेको उनको भनाइ छ ।

हिउँद लागेसँगै लप्ची क्षेत्र हिउँले पुरिन्छ । उक्त क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत चौंरीपालन हो । ३० परिवारका १ सय ५० जना बसोबास रहेको लप्चीमा करिब ५ सय याक–चौंरी छन् । लामाबगरबाट लुम्नाङ चामल ढुवानी गर्न शुल्क नै प्रतिकिलो एक सय रुपैयाँ लाग्ने लामाले गुनासो गरे । बिगु गाउँपालिका–१ लप्चीका बासिन्दालाई वर्ष दिनका लागि खाद्यान्न जोहो गर्नुपर्ने बाध्यता छ । सीमामा आउजाउ बन्द गरिएपछि प्रतिपरिवार ४ सय किलो चामल ढुवानी गरेर लप्ची लानुपर्ने बाध्यता रहेको स्थानीय कर्मा वाइसर शेर्पाले जानकारी दिए ।

लप्चीवासीले प्रतिपरिवारका लागि २५ सय केजीसम्म खाद्यान्न ढुवानी गर्नुपर्छ । यसअनुसार ढुवानी शुल्क मात्रै प्रतिपरिवार २ लाखदेखि २ लाख ५० हजारसम्म पर्छ । चौंरी र याकका लागि पनि ढुटोपिठो लामाबगरबाटै लैजानुपर्ने बाध्यता छ । खर्क हिउँले ढाक्ने भएका कारण काटेर राखेको घाँसले नपुग्ने भएकाले याक र चौंरीका लागि ढुटोपिठो बोकेरै ढुवानी गरिरहेको शेर्पाले बताए । ‘सीमा खुला भएको भए ३/४ महिनाका लागि मात्रै जोहो गरे हुन्थ्यो,’ शेर्पाले भने, ‘उता याक र घोडाबाट खाद्यान्न लिएर आउँथ्यौं, नेपालतर्फ बाटो छैन, पैदलै ढुवानी गर्नुपर्ने बाध्यता छ ।’

लप्चीवासीका लागि लत्ताकपडादेखि सबै सामान किन्ने बजार हुन्, चीनको फलाक र कुती । ‘सीमावासी भएकाले हाम्रो पीडा कसैले देखेन । उताको बजारमा जान पाइँदैन, नेपालमा सामान लिन आउँदा ज्यान जोखिममा राख्नुपर्छ,’ शेर्पाले भने, ‘बाटोघाटो छैन, काठका कमजोर फड्के र भीरमा खोपेर खिया लागेका फलामका डन्डीमा हिँड्नुपर्ने बाध्यता छ ।’ बाटोमा दुई ठूला पहिरो गएका छन् । अन्य स्थानको बाटोमा साँघुरा काठका फड्के छन् ।

लप्चीका स्थानीयसँग २ हजारदेखि २५ सय केजी घिउ बिक्रीका लागि छ । तर उनीहरूले त्यसलाई बजार पुर्‍याउन सकेका छैनन् । सीमा जोडिएका अन्य हिमाली जिल्लामा सरकारले आफैंले हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरे पनि अहिलेसम्म लप्चीवासीलाई वास्ता नगरेको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *