निक्षेपमा सुधार आउनासाथ बैंकहरूको कर्जा बढ्यो
काठमाडौँ — स्रोत नहुँदा कर्जा प्रवाह समेत गर्न नसकेका बैंकहरुले केही निक्षेप थपिएसँगै पुस मध्यपछि भने कर्जा बढाएका छन् । सरकारले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम बैंकहरुमा निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरेसँगै पुस मध्यपछि बैंकहरूमा निक्षेप बढेको थियो । त्यस्तै पुनर्कर्जाको रकम पनि प्रवाह हुँदा निक्षेपमा थप सुधार देखिएको थियो ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पुसको पछिल्लो दुई सातामा मात्रै ७५ अर्ब निक्षेप थपिएको छ । पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा ३० गतेसम्म आउँदा ४३ खर्ब २४ अर्ब पुगेको छ । यहीं दुई साताको अवधिमा कर्जा प्रवाह ४४ अर्बले बढेको छ । जबकि पुसको पहिलो दुई सातामा जम्मा १४ अर्ब कर्जा बढेको थियो । बैंकहरुले कर्जा प्रवाह बढाएपछि निक्षेपमा कर्जाको अनुपात (सीडी रेसियो) समेत बढ्न थालेको छ ।
सरकारले पुसको पहिलो साता नै स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम बैंकमा निक्षेपमा रुपमा जम्मा गर्न पाउने व्यवस्था गरेको थियो । त्यसअघि ५० प्रतिशत थियो । राष्ट्र बैंकले पुसकाे मध्यतिर निर्देशन जारी गर्दै यसलाई कार्यान्वयनमा ल्याएको थियो ।