इन्धन तस्करी रोक्न सीमा क्षेत्रका पम्पले विद्युतीय भुक्तानी लिनुपर्ने
नेपाल आयल निगमले सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न पम्पहरूले विद्युतीय माध्यमबाट मात्रै भुक्तानी लिने व्यवस्था मिलाउन आफ्ना डिपो तथा कार्यालयलाई निर्देशन दिएको छ । भारतीय सीमा जोडिएको क्षेत्रमा पेट्रोल र डिजेलको सीमा मूल्य अन्तर फराकिलो भएपछि निगमले आफ्नो प्रादेशिक कार्यालय, इन्धन डिपो र शाखा कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सीमा क्षेत्रमा भारतभन्दा नेपालतर्फ पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म सस्तो छ । यहीं कारण सीमानजिक नेपालका पम्पहरुबाट बिक्री हुने पेट्रोल, डिजेल तस्करी भई भारत नै जाने गरेकाे निगमको दावी छ । पम्पहरुले बिक्री वितरण गर्ने इन्धनलाई पारदर्शी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गर्न लागिएको प्रवक्ता उपाध्यायले बताए ।
‘भारतीय सीमाबाट २ किलोमिटर नेपालतर्फ रहेका निगमका सबै साधारण पम्प तथा नमुना विक्रेतालाई एक महिनाभित्र पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन भनेका छौं,’ उनले भने, ‘साथै यसबारे प्रगति विवरण एक/एक महिनामा केन्द्रमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका छौं ।’ निगमका अनुुसार मुलुकभर करिब १६ सय पम्पहरु सञ्चालनमा छन् । तीमध्ये करिब ६० प्रतिशत तराई क्षेत्रमा छन् । भारतीय सीमाबाट नेपालतर्फ दुई किलोमिटरसम्मको क्षेत्रमा भने तथ्याङ्क संकलन भइरहेको प्रवक्ता उपाध्यायले बताए ।
‘विद्युतीय भुक्तानी हुँदा सीमामा कति इन्धन कसले लगिरहेकाे छ भन्ने तत्काल रेकर्ड हुन्छ । अनावश्यक बिक्री रोक्न मद्दत पुग्छ,’ उनले भने, ‘सीमा क्षेत्रसँगै आगामी दिनमा सबै क्षेत्रमा व्यवस्था मिलाउछौं ।’ त्यस्तै, निगमले इन्धन बिक्रीमा केही कडाईको नीति लिएको छ । गत वर्षमा बिक्री भएकै परिमाण भन्दा बढी इन्धन नबेच्न डिपोहरुलाई भनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेपछि निगम निरन्तर घाटामा छ । घाटा कम गर्न निगमले गत वर्षसरह नै इन्धन परिमाण बिक्री गर्ने नीति लिएको हो । ‘गत वर्ष यो महिनामा जति बिक्री भएको छ, त्यही अनुपातमा बिक्री वितरण गर्न भनेका छौं’ उनले भने ।