विकास बैंकहरूकाे नाफा ३ अर्ब ८८ करोड
१४ विकास बैंकहरूले माघ मसान्तसम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । औसतमा बैंकहरूले २२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । तीन विकास बैंक भने नोक्सानीमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको खुद नाफा ३ अर्ब ७८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको माघ महिनाको तुलनामा खुद नाफा करिब साढे २ प्रतिशत बढेको छ ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा खुद नाफा कमाउन मुक्तिनाथ विकास बैंकले बाँकी अन्यलाई पछि पारेको हो । मुक्तिनाथ विकास बैंकले यस अवधिमा ६९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गरिमा विकास बैंकले पनि ५६ करोड ६५ लाख नाफा कमाएको छ । महालक्ष्मी विकास बैंकको खुद नाफा आर्जन ५२ करोड ८३ लाख रुपैयाँ छ ।
ज्योति विकास बैंकले ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् भने लुम्बिनी विकास बैंकले ४० करोड १२ लाख रुपैयाँ, शाइन रेसुंगा विकास बैंकले ४० करोड ९ लाख रुपैयाँ र कामना सेवा विकास बैंकले ४० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
सांग्रिला विकास बैंकको खुद नाफा पनि ३० करोड १२ लाख रुपैयाँ छ । राष्ट्रिय स्तरका यी आठ विकास बैंकको खुद नाफा औसतभन्दा माथि छ। सबैभन्दा कम नाफा कर्पोरेट डेभलपमेन्ट बैंकको छ । बैकको खुद नाफा ४७ लाख रुपैयाँ छ । करोड रुपैयाँभन्दा कम खुद नाफा कमाउने अर्को विकास बैंक ग्रीन डेभलपमेन्ट बैंक छ । बैंकले माघ अन्त्यसम्म ७२ लाख खुद नाफा गरेको छ ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिसम्म पनि नोक्सानीमा रहेका विकास बैंक भने नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक हुन् । बैंकहरूको कुल घाटा झन्डै साढे ५ करोड रुपैयाँ छ ।