जीवन बीमा कम्पनीको कुल बीमा शुल्क ९२ अर्बमाथि (कुनको कति ?)
चालु आवको आठ महिनामा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।
यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.१७ प्रतिशत बढी हो । गत आवको यहि अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।
१९ वटा जीवन बीमा कम्पनीहरु मध्ये सबैले बीमा शुल्क बढाउँदा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाये खस्किएको छ । जीवन बीमा अन्तर्गत नेपाल लाइफले अग्रतालाई कायम राखेको छ । २३ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.९५ प्रतिशत हो । गत आर्थिक वर्षको फागुनसम्ममा कम्पनीले २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सन नेपाल लाइफको बीमाशुल्क ९३.२० प्रतिशतले बढेर २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
सिटिजन लाइफको कुल बीमाशुल्क पनि ६८.२० प्रतिशतलले बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफले बीमा शुल्क ३० प्रतिशत भन्दा धेरैले बढाएका छन् । सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने मेट लाइफ इन्स्योरेन्स रहेको छ । मेट लाइफको बीमाशुल्क यस अवधिमा १.७९ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कको ३.८७ प्रतिशत मात्रै हो ।
गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क बढाएका छन्। गुराँस लाइफको बीमा शुल्क २२.११ प्रतिशतले घटेर २ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनामा कुल ८२ अर्ब २० करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये २८.१० प्रतिशत अर्थात २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ । यस्तै नविकरण शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ ।