कोरोनाको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्यो, खोप लगाउन समेत बेवास्ता
कोरोना भाइरसको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्न थालेको छ । संक्रमणको जोखिम कम भएसँगै कोरोना विरुद्धको खोप नलगाएका कतिपयले खोप लगाउन बेवास्ता गरिरहेका छन् भने धेरैजसोले अहिले घर बाहिर निस्कदा मास्क लगाउन समेत छोडेका छन् ।
पालिका चुनाव २०७९ नजिकिएसँगै चुनावी गतिविधि बढेको छ । गाउँघर, शहरबजार तथा चोक चोकमा भेला हुने र चुनाव बारे छलफल हुने गरेको छ । तर, यस्ता छलफल र कार्यक्रममा सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरेका छैनन् । कोरोना भाइरसको जोखिम टरिनसकेको भन्दै स्वास्थ्य मन्त्रालयल र स्वास्थ्य विज्ञले मापदण्ड पालनालाई अनिवार्य गर्न आग्रह गर्दै आएका छन् । तर, धेरैजसोले मापदण्ड पालनामा बेवास्ता गरेका छन् ।
यसले भोलिका दिनमा फेरि संक्रमण फैलिने आशंका बढाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो । यसैबीच, सरकारले १८ वर्ष माथिका सबैलाई यो वर्ष कोरोना विरुद्धको खोप दिने भने पनि त्यो लक्ष्य पूरा नहुने भएको छ । तर, लक्ष्यको नजिक भने सरकार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १८ वर्ष भन्दा माथिका ९४ प्रतिशतले खाेपकाे एक मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाएका धेरैले दोस्रो मात्रा लगाएका छन् । तर केहीले अझै लगाउन बाँकी छ ।
शतप्रतिशत लक्ष्यमा पुग्न नसके पनि लगभग नजिक पुगेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो । अहिले कोरोना विरुद्धको खोप पर्याप्त छ । खोप लगाउन बाँकी रहेका व्यक्तिले चाहेको बेलामा खोप लगाउन पाउँछन् । तर, संक्रमणको जोखिम कम भए सँगै उनीहरुले खोप लगाउन बेवास्ता गरिरहेका छन् । यस्ता व्यक्तिलाई सम्झाई बुझाई गरी खोप लगाउने गरिएको अधिकारीको भनाइ छ । सरकारले अहिले १२ वर्ष भन्दा माथिका बालबालिकालाई पनि खोप दिइरहेको छ । तर, अहिले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने अभियान चलिरहेकाल यो खोप लगाएको १५ दिनसम्म कोरोना विरुद्धको खोप नलगाउन डाक्टर समिरकुमार अधिकारीको आग्रह छ ।