एनएमबि बैंकद्वारा काँक्रेबिहार वरिपरि सरसफाइ
सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंक लिमिटेड सुर्खेत शाखाले प्रभातफेरिका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो ।
एनएमबि बैंक सुर्खेत शाखाको अगुवाइमा रक्तकाली गण (शसस्त्र प्रहरी) कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रमका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक लिमिटेड कर्णाली प्रदेशका क्षेत्रिय प्रमुख मित्रराज प्याकुरेलले बताउनुभयो । साथै उहाँले दिवसको अवसरमा राजधानीसहित देशभरी सबै ठाउँमा सञ्चालन भइरहेको समेत जानकारी दिनुभयो ।
उहाँले प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन भइरहेको र आगामी वर्ष पनि जारी रहने बताउनुभयो । यस्तै बैंकले काक्रेबिहारमा डस्बिन, झाडु, डसप्यान पनि हस्तान्तरण गरेको छ । सुर्खेतमा रहेको एनएमबी बैंकको कार्यालयबाट र्याली सुरु गरी मंगलगडि चोक हुदै काक्रेबिहारमा गई सरसफाईमा तल्लिन भएको थियो ।
विश्व सम्पदाको संरक्षण तथा संवर्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ ।नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिँदै आइएको छ । उक्त कार्यक्रममा ए.एम.बी बैंक का कर्मचारी रक्तकाली गणका कर्मचारीसहित ६० देखि ७० जना को सहभागिता रहेको थियो ।