निफ्राले किन्यो नेपाल वेयरहाउजिङ कम्पनीको पाँच लाख कित्ता शेयर

१६ बैशाख २०७९, शुक्रबार ०२:३९

नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडसंग शेयर लगानी सम्झौता गरेको छ । निफ्राले उक्त कम्पनीको पाँच करोड रुपियाँ बराबरको पाँच लाख कित्ता साधारण शेयर खरिद गर्ने सम्झौता गरेको हो ।

कम्पनीको रजिष्टर्ड कार्यालय सिनामंगल काठमाडौँमा आज शेयर लगानी सम्झौता भएको हो । उक्त सम्झौतामा निफ्राका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।

निफ्राले कम्पनीको कूल जारी पूँजी रु ६८ करोड ७५ लाखको ७.२७ प्रतिशत शेयर किनेको हो । कम्पनीले कूल जारी पूँजीको ८० प्रतिशतले हुन आउने रकम रु ५५ करोडको ५५ लाख कित्ता साधारण शेयर (आईपीओ) विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्तालाई विक्री गरेको छ भने वाँकी २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपियाँको १३ लाख ७५ हजार कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत बिक्री गर्ने तयारी गरिएको छ ।

कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तवरको भण्डारण गृह सार्वजनिक प्रयोजनका लागि हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ ।

कम्पनीले देशका तीन महत्वपूर्ण स्थानहरु औरावनी, विरुवागुठी र वीरपुर क्रमशः सुनसरी, पर्सा र कपिलवस्तु जिल्लामा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै स्थानमा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने संयन्त्रको तयारी गरिरहेको जनाएको छ।

कम्पनीको सुनसरी इकाई कार्यालयबाट अन्न भण्डारण सेवा व्यवसाय सञ्चालनमा आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *