किसान हेपिए देश बन्दैन, किसानलाई सम्मान गरौं : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले किसान हेपिए देश नबन्ने बताएका छन् ।
आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौं वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । उनले किसान हेपिए कृषिक्षेत्र मात्र कमजोर नभई समग्र देशको विकास नै पछि पर्ने बताए ।
सरकारले किसानलाई साथ नदिए देश परनिर्भरतातर्फ धकेलिने र खाद्य असुरक्षा भोग्नुपर्ने अवस्था आउने भएकाले सबै मिलेर किसानलाई सम्मान गर्ने वातावरणको विकास गर्नुपर्ने उनले बताए ।
‘हामीसँग कृषिका लागि आवश्यक जमीन, जनशक्तिलगायत धेरै कुरा छन् । तिनलाई सही तरीकाले उपयोग गर्न हामीले सकेका छैनौं । तर, हामीसँग परिणाममुखी कार्यक्रम, किसानलाई सेवासुविधा, आवश्यक मात्रामा मल बीउलगायत किसानको सम्मान गर्ने कुराको अभाव छ, जसले गर्दा नेपाली किसान हेपिएका छन् र कृषिको विकास हुन सकेको छैन,’ अर्थमन्त्रीले भने ।
अहिलेको कृषि प्रणाली जीविका धान्ने प्रकारको मात्रै भएकाले अबका दिनमा यसलाई व्यवसायीकरण र यान्त्रिकीकरण गर्न कृषि मन्त्रालय सक्षम बन्नुपर्ने उनले बताए ।
कृषि मन्त्रालयले आफ्नो सक्षमता प्रस्तुत गर्न नसक्दा किसानले दु : ख पाएको र देश अझ बढी परनिर्भरतातर्फ धकेलिएको अर्थमन्त्री शर्माले बताए । विदेशबाट कृषिसम्बन्धी सीप सिकेर आएका युवा जनशक्तिको उचित परिचालन गर्दै सरकारले सही अवसर दिन सके उत्पादन वृद्धि गर्न सकिने उनको धारणा छ ।