सानिमा लाईफले असार २० गते बोलायो साधारण सभा, ४.४२% लाभांश पारित हुँदै
सानिमा लाईफ इन्स्योरेन्सले असार २० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुंग्याउनेछ ।
सभाले प्रस्तावित ४ दशमलव २ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।