रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियाे : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ ।
हिजाे नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताउनु भएको हो ।
गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताउनु भयो । उहाँले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताउनु भयो ।
देशको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको अधिकारीकाे भनाइ छ । गभर्नर अधिकारीले चार्टर्ड अकाउन्टेन्टहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्त्वपूर्ण हुने गरेको बताउनु भएकाे छ ।
यस्तै कार्यक्रममा बोल्दै सङ्घका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधान गर्न चार्टर्ड सङ्घ तयार रहने बताउनु भयो ।
अन्तिम अपडेट: असार १६, २०७९