नबिल दिगो बैंकिङको एक वर्ष पूरा‚ ‘ग्रिन विक’ मनाउँदै

१९ असार २०७९, आईतवार ०५:१४

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्द्धन एवम् राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ सुरु भएको नबिल दिगो बैंकिङले एक वर्ष पूरा गरेको छ । २०७८ धान दिवसको दिन दिगो बैंकिङ सुरु भएको थियो ।

बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका कर्जा किसान कर्जा र उद्यमशील कर्जा ल्याएको छ । आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करिब ६ हजार महिला रहेको बैंकले जनाएको छ ।

वातावरण र सामाजिक सम्वर्द्धनलाई दिगो बैंकिङले महत्वका साथ अगाडि बढाइरहेको बैंकले जनाएको छ । बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बेला वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइन अन्तर्गत मात्र प्रदान गर्ने व्यवस्था रहेको छ । नबिल बैंकले सन् २०१८ देखिनै १ करोड भन्दा बढी ऋण सुविधा लिने र कमर्सियल लिजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्समध्ये कुनै पनि सुविधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेन्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको जनाएको छ ।

विश्वमा जलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले २०२१ मा पीसीएएफको सदस्यता लिएको छ । पोर्टफोलियो तथा लगानीसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जन मापन र प्रतिवेदन गर्ने पीसीएएफको अङ्ग बनेको यस बैंकले २६ मार्च २०२२ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतना अभियान सुरु समेत गरेको छ ।

देशमा सामाजिक उद्यमशिलता विकास, प्रोत्साहन र प्रबर्द्धन गर्नका निम्ति २०७८ मंसिर १ गते नबिल स्कुल अफ सोसल अन्टर्प्रेनरसिपको स्थापना गरिएको छ । यसैगरी संस्थाभित्रैबाट दिगो अभ्यासहरू लाई आन्तरिकीकरण गर्दै नबिल बैंक दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले असार १५ बाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरू’ योजना पनि ल्याएको छ । यस योजना अन्तर्गत दिगो बैंकिङ गतिविधिहरू प्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाउन सबै कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यासहरू अपनाएको बैंकले जनाएको छ ।
यससँगै ‘नबिल दिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसमा नबिल बैंकले साताव्यापी लामो ‘नबिल ग्रिन विक’ पनि मनाइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *