वाणिज्य बैंकहरूमा बढ्यो निक्षेप, असारमा १ खर्ब थपियो

२९ असार २०७९, बुधबार ०८:३७

चालू आर्थिक वर्ष (आव) को असारमा वाणिज्य बैंकहरूमा करीब १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार लागेसँगै सरकारी खर्च बढेपछि बैंकहरूमा उक्त परिमाणमा निक्षेप थपिएको हो । निक्षेप बढेसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार आएको छ ।

नेपाल बैंकर्स संघका अनुसार असार २४ गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । जेठ अन्तिममा बैंकहरूसँग कुल ४४ खर्ब रुपैयाँ निक्षेप रहेकोमा २४ दिनमा ९४ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको हो ।

बैंकहरूको कुल निक्षेप बढे पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । जेठ मसान्तमा वाणिज्य बैंकहरूसँग १ खर्ब ११ अर्ब विदेशी मुद्राको निक्षेप रहेकोमा असार २४ मा १ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ । नेपाली मुद्राको निक्षेप भने ४२ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर ४३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । असारको पछिल्लो १ सातामै बैंकहरूमा ६२ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।

असार लागेसँगै सरकारी खर्च बढेको छ । सोमवार मात्र ६ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयको अभिलेखमा उल्लेख छ । शनिवार एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको छ । असारमा मात्र सरकारी कोषबाट करीब २ खर्ब रुपैयाँ भुक्तानी भएको छ ।

सरकारले बजेट खर्च गर्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव हुँदै आएको बैंकरहरूले बताउँदै आएका थिए । असारमा निक्षेप संकलन बढे पनि वाणिज्य बैंकहरूले कर्जा प्रवाह भने घटाएका छन् । राष्ट्र बैंकको चालू आवको मौद्रिक नीतिमार्पmत कायम गरेको व्यवस्थाअनुसार सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गर्न बैंकहरूले कर्जा प्रवाह घटाएका हुन् ।

संघका अनुसार असारमा बैंकहरूको कर्जा १९ अर्ब रुपैयाँले घटेको छ । जेठ मसान्तमा बैंकहरूको कुल कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्म घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँ कायम भएको छ । पछिल्लो १ सातामा मात्र बैंकहरूको कर्जा १० अर्ब रुपैयाँले घटेको छ ।

केन्द्रीय बैंकले तोकेअनुसार सीडी रेसियो ९० प्रतिशत कायम गर्न बैंकहरूले कर्जा असुलीमा जोड दिएका हुन् । संघका अनुसार असार २४ गते बैंकहरूले औसत सीडी रेसियो ८८ दशमलव ५७ प्रतिशत छ । गत जेठ अन्तिममा बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव १५ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार चारओटा वाणिज्य बैंकहरूको मात्र सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ । वैशाख मसान्तमा १८ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि थियो । बैंकहरूले कर्जा बन्द गर्दै निक्षेप संकलन तथा ऋण असुलीमा जोड दिएर तोकिएअनुसार सीडी रेसियो कायम गरेका हुन् । यादव हुमागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *