‘मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउने संकेत’

९ श्रावण २०७९, सोमबार ०५:४४

चेम्बर अफ कमर्शले मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउने संकेत गरेको प्रतिक्रिया दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे चेम्बरले उक्त टिप्पणी गरेको हो । ‘केन्द्रीय बैंकले ल्याएको संकुचित मौद्रिक नीतिले देशमा आर्थिक गतिविधि घटाउने संकेत गरेको छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मौद्रिक नीतिले कर्जा विस्तारको लक्ष्य घटाएकाले आर्थिक क्रियाकलाप खुम्चिने, राजस्व समेत प्रभावित हुने र नयाँ उद्योग व्यवसायको विस्तारमा कमी आउने चेम्बरको धारणा छ । त्यस्तै अनिवार्य नगद अनुपात सीआरआर ३ बाट ४ मा पुर्‍याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य गतवर्षको १८ प्रतिशतमा ६ प्रतिशतले घटाएर १२ प्रतिशतमा कायम गरिनुले बजेटमा उल्लिखित ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य एवं मूल्यवृद्धि ७ प्रतिशतमा नियन्त्रण थप चुनौतीपूर्ण बन्ने देखिएको चेम्बरको धारणा छ ।

बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट कर्जा लिँदा तिर्नुपर्ने ब्याज १ दशमलव ५ प्रतिशतले बढाएर ८ दशमलव ५ प्रतिशत पुर्‍याइएकाले आगामी दिनमा समग्र कर्जाको ब्याजदर बढ्ने चेम्बरको बुझाइ छ । चेम्बरले आइतवार मौद्रिक नीतिको सम्बन्धमा ९ बुँदे धारणा सार्वजनिक गरेको छ ।

घरजग्गा धितो कर्जामा सुरक्षण अनुपात काठमाडौं उपत्यकाभित्र ३० प्रतिशत र अन्य स्थानमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्थाले समग्र रियलइस्टेट व्यवसाय प्रभावित हुने दाबी चेम्बरले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *