कोरोना संक्रमण बढ्दै : २४ घण्टामा ५६८ संक्रमित थपिए, एक जनाको मृत्यु

१० श्रावण २०७९, मंगलवार ०६:५०

कोभिड संक्रमणले सोमबार थप एक जनाको मृत्यु भएको छ । योसँगै साउन महिनामै कोभिडबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।  यसअघि आइतबार कोभिडका कारण २ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो ३ हजार ८४ पीसीआर र १ हजार ७ सय १६ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४५३ र एन्टिजेन परीक्षणबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ जना पुगेको छ ।

उपत्यकामा संक्रमण बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७६ पुगेको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या १ सय २ र ललितपुरमा ३ सय ४१ पुगेको छ ।

सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं मात्र रहेको छ भने मोरङ र ललितपुरमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा रहेका छन् ।

उपत्यकाका विभिन्न अस्पतालमा ७५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये २३ जना जनरल वार्डमा, २९ जना एचडीयूमा, २१ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ७२ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा ४ करोड ८८ लाख ६० हजार ७ सय ३७ मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड ११ लाख ३५ हजार ७६ जनाले एक मात्रा, २ करोड ५ लाख ३५ हजार ८ सय ३८ जनाले पूर्ण मात्रा र ७१ लाख ९० हजार २ सय ३७ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *