१२ वाणिज्य बैंकको नाफा ३३ अर्ब ६७ करोड बढी, कुनको कति ?

१३ श्रावण २०७९, शुक्रबार ०५:५१

नेपालमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये १२ वटाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार सानिमा बैंकको नाफा घटेको छ भने बाँकी ११ वटा बैंकले नाफा बढेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा कमाएको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २०७७/७८ मा यो बैंकले १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

ग्लोबल आईएमई बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २५ प्रतिशत नाफा वृद्धि गर्दै ५ अर्ब २० करोडभन्दा बढी आर्जन गरेको छ । २०७८ साउन मसान्तदेखि २०७९ असार मसान्तसम्म बैंकले कुल ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकको नाफामा यस वर्ष १.०७ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ मै २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ कमाएको बैंकले आर्थिक वर्षमा ६ करोड ४९ लाख १२ हजार रुपैयाँले नाफा गुमाउँदै २ अर्ब २५ करोड २९ लाख ९ हजार रुपैयाँमात्र कमाउन सकेको हो ।

कुन बैंक कस्तो छ ?

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कुल ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३८.८६ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हालसम्म जारी रिपोर्ट अनुसार शीर्ष बैंकहरुमा ठूलो नाफा आर्जन गर्नेमा एनआईसी एशिया दोस्रो नम्बरमा रहन सफल भएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ छ ।

इनभेष्टमेन्ट बैंक

इनभेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १४.८३ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ कमाएको थियो ।

प्रभु बैंक

प्रभु बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँमात्र नाफा कमाएकोमा समीक्षा अवधिमा ५१.११ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ कमाएको बैंकले समीक्षा अवधिमा ४३.७७ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

सिटिजन्स बैंक

यस बैंकले आर्थिक वर्ष २०७७/७८ को तुलनामा यस वर्ष २४.७६ प्रतिशतले नाफा वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ कमाएको बैंकले समीक्षा अवधिमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ कमाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले यस वर्ष ३४.४३ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ कमाएकोमा यस वर्ष २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

सनराइज बैंक

यस्तै, समीक्षा अवधिमा सनराइज बैंकले ४८.६९ प्रतिशतले नाफा वृद्धि गर्दै २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ५१.९८ प्रतिशतले वृद्धि गर्दै २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ पुर्याएको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले सामान्य १.७६ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ कमाएका छन् ।

२६ वटा वाणिज्य बैंकमध्ये बाँकी १४ वटा बैंक भने वित्तीय रिपोर्ट सार्वजनिक गर्ने क्रममै छन् ।

बैंकहरुले साउन २१ भित्र प्रतिवेदन सार्वजनिक गरिसक्नुपर्ने

 बैंक तथा वित्तीय संस्थाहरुले अब हरेक वर्षको वार्षिक प्रतिवेदन साउन २१ भित्र सार्वजनिक गरिसक्नुपर्ने भएको छ। आर्थिक वर्ष सकिएको २१ दिनभित्र प्रतिवेदन सार्वजनिक गरिसक्न राष्ट्र बैंकले परिपत्रमार्फत निर्देशन दिएको हो।

राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *