बजेट घोषणा अनुसार नै तलबमान लागू : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताउनुभएको छ । बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए ।
उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो । तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरूको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेर सार्वजनिक भएको छ ।
असमान ढङ्गले तलब वृद्धि गरिँदा आफूहरू मर्कामा परेको भन्दै नासुहरूले सोमबार सिंहदरबारभित्र पेन डाउन गरेका थिए । उनीहरूले मंगलबार बिदा बस्ने घोषणा समेत गरेका छन् ।