सेबोनबाट तीन कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

२५ श्रावण २०७९, बुधबार ०६:१७

चालु आर्थिक वर्ष २०७९/८० सुरु भएयता नेपाल धितोपत्र बोर्ड(सेबोन)ले तीन कम्पनीलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । सेबोनले चालु आवको विभिन्न मितिमा इष्टर्न हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई कुल १७ करोड ६५ लाख ७५ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ७५० कित्ता सेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डका अनुसार इष्टर्न हाइड्रोपावर लिमिटेडलाई साउन ९ गते स्थानीय र सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँ मूल्यको १२ लाख ४० हजार कित्ता, खप्तड लघुवित्तलाई साउन १० गते १ करोड ३२ लाख रुपैयाँ मूल्यको १ लाख ३२ हजार कित्ता र साउन १८ गते श्रृजनशील लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ मूल्यको ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्रीको अनुमति दिएको छ ।

यस्तै खप्तड लघुवित्तले जारी पुँजी ४ करोड रुपैयाँको ६७ प्रतिशतले हुन आउने २ करोड ६८ लाख रुपैयाँ संस्थापकतर्फको पुँजी चुक्ता भएको छ । श्रृजनशील लघुवित्तले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ६४ प्रतिशतले हुन आउने ७ करोड रुपैयाँ पुँजी चुक्ता भएको छ ।

इष्टर्न हाइड्रोपावर लिमिटेडले जारी पुँजीको २० प्रतिशत, खप्तड लघुवित्तले जारी पुँजीको ३३ प्रतिशत र श्रृजनशील लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने रकम बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको हो । संस्थापकतर्फ इष्टर्न हाइड्रोपावरको जारी पुँजी ६२ करोडको ८० प्रतिशतले हुन आउने ४९ करोड ६० लाख रुपैयाँ चुक्ता भैसकेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार इष्टर्न हाइड्रोपावर लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, खप्तड लघुवित्तको प्रभु क्यापिटल लिमिटेड र र श्रृजनशील लघुवित्तको सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ अनुमति पाएका तीनवटै कम्पनीको हाल रहेको जारी पुँजी नै आईपीओ निष्काशन पश्चात चुक्ता पुँजीमा कायम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *