छटपटीमा घरजग्गा व्यवसायी : बैंक ऋण तिर्न चर्को ब्याजमा सापटी, त्यसपछि गाउँ छोडेर बेपत्ता !
चितवनका युवराज कँडेल (नाम र ठेगाना परिवर्तन) स्थानीय स्तरमा चल्तीका व्यवसायी थिए । घरजग्गामा लगानी र दलालीका अलबा महेन्द्र राजमार्गमा तीन तले घर बनाएर होटल व्यवसाय समेत शुरु गरेका थिए ।
कोभिडको समयमा होटलले अपेक्षाकृत व्यवसाय गर्न सकेन भने कोभिड मत्थर हुँदै गएपछि घरजग्गा व्यवसायमा आएको मन्दीले यो व्यवसाय पनि चौपट भयो ।
बैंकबाट लिएको ऋण तिर्न गाउँलेबाट चर्को ब्याजमा ऋण निकालेका कँडेलले केही साथीहरूको ऋण तिर्न मिटरब्याजमा समेत पैसा निकाले । अन्तत त्यहि मिटर ब्याजका कारण उनले घर बेचेर पनि सबैं ऋण चुक्ता गर्न सकेनन् ।
महेन्द्र राजमार्गसँगै जोडिएको घर र होटल बेचेर १० किलोमिटर भित्र गाउँमा १० धुर जग्गा किनेर बसाइ सरेका कँडेल अहिले त्याहाँबाट पनि बेपत्ता भएका छन् । उनलाई २ लाख, ४ लाख रुपैयाँ ऋण सापटी दिनेहरू टाउकोमा हात लगाएर बसेका छन् ।
कतिपय ऋणदाताले त असार मसान्तमा निकै अफ्ठेरो भयो भनेर खुट्टा ढोगेपछि थप ऋण पनि दिएका थिए । एउटै व्यक्तिले ८ लाख रुपैयाँसम्म पनि ऋण दिएका थिए । उनी बेपत्ता भएपछि ऋण दिनेहरूुको रुवाबासी छ ।
लाख बैना लिन करोडका गाडी धरौटी !
काठमाडौंमा घरजग्गा व्यवसायीका हर्कत झनै अनौठा छन् । साथीभाइबाट सापटी पाउन नसक्ने अवस्था आउँदा लाख रुपैयाँ बैना फुत्काउन झन्डै एक करोड रुपैयाँ पर्ने गाडी छोडेर हिनिरहेका छन् । तर उनीहरूले छोड्ने गाडी भने आफ्नो हुँदैन । कसैले पैसा नदिने साथीबाट गाडी मागेर बैना फुत्काउन धरौटी राखेका छन् भने कसैले टेस्ट ड्राइभको लागि गाडी लगेर बैनाको लागि धरौटी राखेका छन् ।
बैना दिने व्यक्तिले गाडीको कागजपत्र नमाग्ने र पछि गाडी धनीले खोज्दै जाँदा उक्त गाडी धरौटी राखेर पैसा लिएका घटना बाहिर आउन थालेका छन् ।
खासगरी सेकेण्ड हेन्ड गाडी विक्रि गर्ने र भाडाको लागि गाडी दिने व्यवसायीहरूले यो समस्या निकै झेल्नुपरेको बताएका छन् । उनीहरूका अनुसार अहिले घरजग्गा व्यवसायीले हरेक महीना २/३ ओटा गाडी बैना मागेर धरौटी राख्न थालेका छन् । त्यसरी गाडी लिनेहरू चिनजानमा रहेका र लामो समयदेखि घरजग्गा व्यवसायमा रहेकाले विश्वासको आधारमा गाडी दिंदा गाडी फिर्ता ल्याउन निकै दुख गर्नुपरेको उनीहरू बताउँछन् ।
घरजग्गा व्यवसायमा लागेका साथीहरू जग्गा देखाउन जाँदा भाडामा लिएर भएपनि गाडीमै जान्छन् । त्यसरी गाडीमा जाँदा जग्गा विक्री गर्न सहज हुने र किन्ने मान्छेले पनि पत्याउने गरेको उनीहरूको अनुभव छ । तर अहिले कारोबारमा मन्दी आएपछि हेलिकोप्टरमै गएपनि किन्ने मान्छे नपाउने अवस्था छ । यस्तो अवस्थामा चलेको मूल्यभन्दा सस्तो मूल्यमा बैना माग्ने र उनीहरूको विश्वास जित्न गाडी धरौटी राख्ने गरेको अटो व्यवसायीहरू बताउँछन् ।
घरजग्गासँग जोडिएका अन्य व्यवसायीको पनि उठीबास
कञ्चनपुरका सुरेश मल्ल (नाम र ठेगाना परिवर्तन) ढुवानी व्यवसायी हुन् । ट्र्याक्टरमा बालुवा, ढुङ्गा, माटो, गिट्टीदेखि सिमेन्ट र डन्डी ढुवानी गर्ने उनको मुख्य पेशा थियो । नयाँ घर बनाउनेहरू उनका ग्राहक थिए ।
घरजग्गा कारोबारमा मन्दी आएपछि जग्गाको किनबेच रोकियो । नयाँ घर बन्ने क्रममा पनि कमी आयो । कोभिडको समयमा सुस्ताएको व्यवसायले गति लिने आश गर्दा गर्दै वर्ष बित्यो, तर व्यवसायमा सुधार आएन ।
बैंकबाट कर्जा चुक्ता गर्न निकै दबाब आएपछि उनले गाउँलेबाट चर्को ब्याजमा ऋण काढेर बैंकको ऋण चुक्ता गरे । तर सयकडा ३ रुपैयाँ (वार्षिक ३६ प्रतिशत)मा लिएको ऋणले उनको तनाब झनै बढ्यो ।
उनलाई सापटी दिने गाउँलेहरू दिनदिनै ऋण फिर्ताको लागि घर पुग्न थालेपछि एक रात उनी सुटुक्कै गाउँ छोडेर भागेका छन् । उनी अहिले कसैको पनि सम्पर्कमा छैनन् ।
असार मसान्तमा बैंकको किस्ता तिर्ने पैसा नपाएपछि एक जना आफन्तको घरमा गएर मल्लले इमोसनल बल्याकमेल गरेका थिए । मर्ने अवस्था नै आयो भनेपछि आफन्तले पनि अर्को मान्छेसँग ऋण मागेर मल्ललाई दिएका थिए । उनी पनि सम्पर्क बिहिन हुँदा उनलाई ऋण दिने गाउँ नै शोकमा छ । उनीहरूको एउटै मात्र प्राथना व्यक्ति सकुशल घर आएर सावा मात्रै फिर्ता गरिदेओस भन्ने छ ।
+++
यी त विभिन्न क्षेत्रका प्रतिनिधि घटना मात्रै हुन् । अहिले धेरै घरजग्गा व्यवसायीहरू टाट पल्टिने अवस्थामा पुगेका छन् । बैंकबाट फोन आउँदा मोबाइल स्वीचअफ गर्ने व्यवसायीहरू सापटी लिएका साथीहरूको घरको बाटो हिड्नै छोडिसकेका छन् ।
१ महीनाको लागि भनेर लिएको सापटी ३ महीना ६ महीना हुँदै १ वर्ष पुग्न लाग्दा पनि फिर्ता नगरेको घरजग्गा व्यवसायीलाई ऋण दिनेहरू बताउँछन् । अहिले सापटी लिएका कैयौं व्यवसायीहरू बेपत्ता भएका खबर सुनेपछि उनीहरू झनै आत्तीएका छन् ।
पैसा माग्न घर जाँदा घरमा नभेटिने र फोन गर्दा स्वीचअफ गरेर बस्ने गरेको उनीहरूको गुनासो छ । फोन लागिहाले पनि फोन नउठाउँदा ऋण दिनेहरू पनि ठूलो तनाबमा छन् ।
कसरी पार लाग्ला अहिलेको संकट ?
अहिले घरजग्गा व्यवसायमा आएको मन्दीका साइड इफेक्ट विस्तारै सतहमा आउँदै छन् । केही सहकारीहरू घरजग्गामा गरेको लगानी नउठ्दा समस्याग्रस्त भएका छन् ।
बैंकले दिएको ऋण नउठ्दा धितोमा राखेको सम्पत्ती धमाधम लिलाम गरिरहेका छन् । अहिले बजारमा व्यक्तिकै जति बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गाहरू पनि विक्रीमा आइरहेका छन् ।
अहिलेकै अवस्थामा घरजग्गा क्षेत्र मन्दीबाट बाहिर आउन नसक्ने यस क्षेत्रका जानकारहरू बताउँछन् । यदि अहिले घरजग्गा क्षेत्र चलायमान बनाउने हो भने गैर आवासिय नेपालीलाई सोझै घरजग्गा किन्न दिनुपर्ने व्यवसायीको सुझाब छ । अभियान संवाददाता www.abhiyandaily.com